डब्ल्यूएचओले भन्यो : अनिवार्य रुपमा मास्क लगाऔँ

काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मास्क लगाउने विषयमा तयार गरेको गाइडलाइनमा महत्वपूर्ण परिवर्तन गरेको छ। मास्कले पनि कोरोना भाइरस सर्नबाट रोक्ने देखिएको उल्लेख गर्दै डब्लूएचओले बिरामीको नजिक जाँदा, सार्वजनिक स्थान तथा भिडभाडमा अनिवार्य रुपमा मास्क लगाउन सुझाव दिएको छ।

सार्वजनिक यातायात, बजार, शरणार्थी शिविर जस्ता स्थानमा जाँदा कम्तिमा घरमै बनाइएको कपडाको मास्क भए पनि लगाउन डब्ल्यूएचओले सल्लाह दिएको छ । यो नियम विश्वका धेरैजसो देशहरुले यसअघि नै लागू गरिसकेका छन् ।

डब्लुएचओको कोभिड–१९ सम्बन्धमा प्रमुख प्राविधिक विज्ञ डा. मारिया भान केर्खोभले कपडाको मास्क मात्रै लगाउँदा पनि कोरोना भाइरस मिसिएका थुकका छिटाहरुबाट केही हदसम्म जोगिन सकिने उल्लेख गरेकी छन् ।

कोरोना भाइरसको संक्रमण फैलिने क्रमसँगै सबैले मास्क लगाउन थालेपछि विश्वभर मास्क अभाव भएको थियो । त्यतिबेला डब्लुएचओले संक्रमित व्यक्तिको नजिक जाने र संक्रमित व्यक्तिबाहेक अन्य स्वस्थ व्यक्तिले मास्क नलगाए पनि हुने बताएको थियो ।

डब्ल्यूएचओको परिमार्जित सुझावमा स्वस्थ मानिसले पनि सार्वजनिक स्थानमा जाँदा वा घर बाहिर निस्कँदा सम्भावित संक्रमणबाट जोगिन मास्क लगाउनुपर्ने उल्लेख छ । तर ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुले भने मेडिकल मास्क लगाउर्नैपर्ने डब्ल्यूएचओले जनाएको छ । एजेन्सी