समाचार प्रभाव : दाङको तीन ठाउँमा दुई सय बेडको आइसोलेशन निर्माण
दाङ, दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा विरामीको चाप बढे सँगै बिरामी राख्ने ठाउँ नभएपछि दाङका तीन स्थानमा आइसोलेशन निर्माण गरिएको छ । दाङको देउखुरी स्थित राप्ती गाउँपालिकामा एक सय बेड, बंगलाचुली गाउँपालिकामा ५० बेड र तुलसीपुर उपमहानगरपालिकामा ५० बेडको गरी जम्मा दुई सय बेडको आइसोलेसन कक्ष निर्माण गरिएको छ ।
कुसेन्युज डटकमले जेष्ठ २१ गते बुधबार “दाङमा कोरोना बिरामीको हरिबिजोग, भरियो कोरोना बिरामीले अस्पताल, क्वारेनटाईनमै संक्रमित” भन्ने शिर्षकको समाचार र जेष्ठ २२ गते बिहिबार “दाङमा कोरोना संक्रमित क्वारेन्टाइनमै बस्न बाध्य, अस्पतालले उपचार गर्न मानेन्,” शिर्षकको समाचार प्रकाशन गरेपछि दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, दाङबाट निर्वाचित प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा सांसदको गम्भीर ध्यानकर्षण भएको जनाउँदै जिल्लाका विभिन्न ठाउँमा गरी दुई सय बेडको आइसोलेसन कक्ष निर्माण गरिएको हो ।
जस अन्र्तगत देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ मा रहेको राप्ती प्राविधिक शिक्षालयमा १ सय वेडको आइसुलेशन कक्ष, तुलसीपुरमा तुलसीपुर उपमहानगरपालिकाले दोघरेमा रहेको सभाहल तथा राप्ती लाइफ केयर राजापुरमा रहेका भवनमा ५० बेडको आइसोलेसन कक्ष र बंगलाचुली गाउँपालिका वडा नं.४ को झुलिडाँडामा १५ बेडको र वडा नं. १ को प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा २५ बेडको आईसुलेसन कक्ष निर्माण गरिएको हो ।
जसमा देउखुरीको राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा स्थापना गरिएको आइसुलेशन कक्षलाई नेपाली सेनाको सुरक्षा र व्यवस्थापनमा १ सय वेडको आइसुलेशन कक्ष शुक्रबार देखि सञ्चालनमा आएको प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य इन्द्रजित चौधरीले बताएका छन् ।
आइसुलेशन कक्षमा राप्ती प्रादेशिक अस्पताल तलसीपुरका फिजिसियन डाक्टरको नेतृत्वमा स्वास्थ्यकर्मी खट्ने बताइएको छ । देउखुरीका चार पालिकामा रहेका एमविविएस डाक्टर तथा अन्य स्वास्थ्यकर्मी परिचालित हुने राप्ती गाउँपालिकाले बताएको छ । कोरोना संक्रमित बिरामीको संख्या थपिदै जान थालेपछि आइसुलेशनमा राख्नुपर्ने बिरामी क्वारेन्टाइनमा बस्नु परेको भन्दै आइसुलेशन कक्ष स्थापना गरिएको बताइएको छ ।
शिक्षालयमा स्थापना गरिएको आइसुलेशनमा कोरोनाका सामान्य विरामीलाई मात्र राखिने बताइएको छ । प्रदेश सरकारले तराईका जिल्लामा २ सय वेडको आइसुलेशन बनाउने निर्णय अनुसार शिक्षालयमा १ सय वेडको आइसुलेश बनाइएको छ । जसको व्यवस्थापन, सहयोग र समन्वय स्थानीय सरकारले गर्ने छ । जिल्लामा १ सय ६६ वेडको आइसोलेशन तयारी अवस्थामा रहेको बताइए पनि ५० वेडको कोरोना विशेष अस्पतालमा आइसोलेसन वेड मात्रै सञ्चालनमा रहेको छ ।
बाँकी भनिएका आइसोलेशन वेडमा बिरामी भर्ना गरिएको छैन । कोरोना विशेष अस्पताल बेल्झुण्डीमा १ सय वेड भनिएको छ तर त्यहाँ ५० वेड मात्रै छन् । बाँकी अन्य निजी अस्पताल तथा स्वास्थ्य संस्थामा आइसोलेसन वेडको विवरण टिपाइएको छ । त्यस्तै कोरोना संक्रमितलाई लक्षित गरेर तुलसीपुर उपमहानगरपालिकाले पनि आइलेसन वार्ड निर्माण गरिएको छ ।
पहिलो चरणमा ५० वेडको आइसोलेसन वनाउने गरी उपमहानगरपालिकाले कामलाई अगाडी वढाएको हो । विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेको संयोजकत्वमा समिति वनाएको छ । जसको सदस्यमा १९ नम्वर वाहिनी र उपमहानगरपालिका अन्तर्गत जनस्वास्थ्य प्रवद्र्धन शाखा रहेका छन् । उपमहानगरपालिकाले दोघरेमा रहेको सभाहल र राप्ती लाइफ केयर राजापुरमा रहेका भवनमा आइसोलेसन निर्माण गरेको बताएको छ ।
त्यस्तै बंगलाचुली गाउँपालिकाले पनि ५० बेडको आईसुलेसन तयार गरेकोे छ । गाउँपालिकाले कोरोना संक्रमितहरुको उपचारका लागि अहिले ४० बेडको आईसुलेसन तयार पारी सकेको छ । अहिले गाउँपालिकाले वडा नं.४ को झुलिडाँडामा १५ बेडको र वडा नं. १ को प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा २५ बेडको आईसुलेसन निर्माण गरीसकेको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले जानकारी दिए ।
साथै प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा १० बेड पछि थप गरिने समेत प्रमुख प्रशासकीय अधिकृत वलीले जानकारी दिए । बंगलाचुली गाउँपालिकाले अहिले १४ जना कोरोना संक्रमित विरामीहरुलाई आफ्नै आईसुलेसनमा राखेर उपचार समेत थालि सकेको छ । यसभन्दा पहिले संक्रमित भएका ४ जनालाई कोरोना अस्पताल बेलझुण्डीमा राखिएको छ भने प्युठान जिल्लाका २ जनालाई माण्डवी गाउँपालिकामा हस्तान्तरण गरीएको छ ।
यसअघि दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा विरामीको चाप बढे सँगै बिरामी राख्ने ठाउँ नभएपछि राप्ती गाउँपालिकाका दुई जना कोराना संक्रमित बाँकेको नेपालगञ्ज पठाईएको थियो भने बंगलाचुली गाउँपालिकाले क्वारेन्टाइनमै राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको थियो ।