दाङको राजपुरमा पिसिआर रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट डिस्चार्ज

 देउखुरी, दाङकाे देउखुरी स्थित राजपुर गाउँपालिकामा चरम लापार्वाही देखिएकाे छ । बिहिबार उक्त गाउँपालिकाकाे क्वारेन्टाइनबाट डिस्चार्ज गरिएका तीन जनालाई फेरि कोरोना पोजेटिभ देखिएपछि यस्ताे घटना बाहिरिएकाे हाे । गाउँपालिकाको स्वास्थ्य शाखाले तीन जनालाई आइसोलेसनमा राख्नुपर्ने भएपछि बाँकी एक सय ५४ जनालाई डिस्चार्ज गरेर घर पठाएको थियो ।

तर, बिहिबार फेरी राजपुर गाउँपालिकामा तीन जना संक्रमित भेटिएको सूचना सार्वजनिक भएकाे थियाे । त्यसपछि कोरोना परिक्षण गरिएको रिपोर्ट नआउँदै डिस्चार्ज गरिएको घटना बाहिर आयो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले गाउँपालिकालाई सूचना दिदा भएको त्रुटीले गर्दा समस्या आएको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताए ।

‘क्वारेन्टाइनमा बसेका मध्ये ३५ जनाको नमुना परिक्षण गर्दा बुधबार तीन जनामा संक्रमण देखिएको रहेछ । तर, हामीलाई जानकारी गराउँदा एक सय ५७ जनाकै परिक्षण गर्दा तीन जनामा देखियो भन्ने सूचना आएपछि तीन जना बाहेक अरुलाई डिस्चार्ज गरेर घर पठाइएको थियो गाउँपालिकाका अध्यक्ष केसीले भने । बिहिबार फेरी राजपुर गाउँपालिकामा तीन जना संक्रमित फेला परेको जानकारी आएपछि फेरी हामीले घर घरमा पुगेर ल्याएका छौं ।’ गाउँपालिकाले गम्भिर गल्ती गरेको भन्दै कोरोना संक्रमितका परिवारका सदस्य र गाउँलेहरुले विरोध गर्नुका साथै त्रसित समेत बनेका छन् ।

बिहिबार पुष्टि भएका तीन जना मध्ये दुई जना सम्पर्कमा आएको र एक जनालाई सम्पर्कमा ल्याउने काम भैरहेको राजपुर स्वास्थ्य शाखाका प्रमुख कमल रोकायले बताए । बिहिबार राजपुर–२ निवासी ३४ बर्षीय, वडा नम्बर ३ निवासी २७ बर्षीय र वडा नम्बर ४ निवासी २६ बर्षिय पुरुष व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियाे ।