देशैभर बदलीसँगै वर्षाको सम्भावना, सचेत रहन आग्रह

काठमाडौं,   नेपालमा स्थानीय वायु र अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवातको प्रभावले आज (शुक्रबार) काठमाडौं उपत्यकालगायत देशैभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । अहिले बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश–१, प्रदेश–२, गण्डकी प्रदेश र बागमती प्रदेशभरी तथा प्रदेश–५ को अधिकांश भागमा मध्यम वर्षा भैरहेको छ ।

आज दिउँसो प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा मौसम सामान्य बदली रहने जनाइएको छ । प्रदेश ५, सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको मौसाम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै प्रदेश १,२, बागमती प्रदेश र गण्डकी प्रदेशको अधिकांश स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको साथै उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन हुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १७ दशमलव ६ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २२ देखि २४ डिग्री सेल्सियसबीच रहने छ । सूर्योदय आज बिहान ५ बजेर ८ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५७ मिनेटमा हुनेछ ।