हुम्ला र जाजरकोटसहित कर्णालीमा एकै दिन १०० जनामा कोरोना संक्रमण
सुर्खेत, कर्णाली प्रदेशमा आज एकै दिन १ सय कोरोना संक्रमित थपिएका छन्। कर्णाली प्रदेशले शुक्रबार दिउँसो सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १०० संक्रमित थपिएका हुन् ।
दैलेखमा यसअघि दुई सय १८ जना संक्रमित रहेकोमा आज ९१ जना थपिएसँगै जिल्लामा कुल संक्रमितको संख्या ३ सय ९ पुगेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखको दुल्लु नगरपालिकाका १० र ११ नम्बर वडाबाहेक सबैजसो वडामा संक्रमित थपिएका छन्।
त्यस्तै दुल्लु नगरपालिकामा मात्रै जम्मा २७ जना संक्रमित थप भएका छन् । महाबु गाउँपालिकामा दुईजना ४ वर्षीय बालक र एक ९ वर्षीया बालिका सहित ६४ जना थपिएका छन्।
कर्णालीका प्रदेशका दश जिल्लामध्ये आज हुम्ला र जाजरकोटमा पनि कोरोना संक्रमति भेटिएका छन्। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
हुम्लाको चंखेली गाउँपालिका वडा नं. ३ का ५८ वर्षे पुरुष र जाजरकोट भेरी नगरपालिका वडा नं. १० का १९ वर्षे पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै आजै जुम्लाको चन्दननाथ नगरपालिकाका ३ जना, दोलखाका, रामेछाम, गोरखाका एक/एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषणको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा एकै दिन १ सय जना कोरोना संक्रमण पुष्टि भएका हुन्।