दाङमा कोरोना संक्रमित क्वारेन्टाइनमै बस्न बाध्य, अस्पतालले उपचार गर्न मानेन्
दाङ , दाङमा कोरोना भाइरस संक्रमितको संख्या ५८ पुगेको छ । १० पालिका रहेको दाङमा शान्तिनगर र दंगीशरण गाउँपालिका बाहेक अन्य सबै पालिकामा काेराेना संक्रमण पुष्टि भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । संक्रमण देखिनेमा सबैभन्दा धेरै १७ जना घोराही उपमहानगरपालिकाका रहेका छन् ।
त्यसपछि बंगलाचुली गाउँपालिकामा १४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । लमही नगरपालिका र गढवा गाउँपालिकामा ८/८ जना संक्रमित देखिएका छन् । त्यसैगरी तुलसीपुर उपमहानगरपालिकामा ५ जना, राजपुर गाउँपालिकामा ३ जना, राप्ती गाउँपालिकामा २ जना र बबई गाउँपालिकामा १ जनामा कोरोना पुष्टि भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
संक्रमित क्वारेन्टाइन मै बस्न बाध्य
दाङकाे घोराही स्थित कुइेपानी क्वारेन्टाइनमा बसेका आमा छोरीमध्ये छोरीलाई संक्रमण देखियो । आमालाई देखिएन । त्यस्तै अर्की आमालाई देखिएन बच्चालाई देखियो । तर उनीहरु सबै अझै त्यहीँ बसेका छन् । उनीहरु त्यहाँ बस्नुको कारण भने प्रदेश सरकारले बनाएको बेलझुण्डी स्थित कोरोना विशेष अस्पतालमा संक्रमितलाई राख्ने ठाउँ छैन ।
दाङका अन्य अस्पतालमा स्थापना गरिएका आइसोलसनमा भने उपचार गर्न अस्पतालले मानेका छैन । अहिले विभिन्न अस्पतालमा स्थापना गरिएको ६६ बेडको आइसोलेसन भने खाली रहेको छ । बेलझुण्डी अस्पतालमा स्थापना गरिएको एकसय बेड भने भरिएको छ । त्यहाँ अहिले ५१ जना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ ।
तर अन्य अस्पतालले उपचार गर्न आनाकानी गर्दा संक्रमित भने क्वारेन्टाइनमा बस्न बाध्य भएका छन् । जसले गर्दा संक्रमण अन्यमा पनि फैलन सक्ने खतरा देखिएको छ । यसअघि कोरोना संक्रमितको उपचार गर्न भनेका अस्पतालहरूले संक्रमितलाई राख्न नमाने पछि घोराही उपमहानगर र बंगलाचुली गाउँपालिकामा क्वारेन्टाइमै १७ जना संक्रमितलाई राख्नु पर्ने बाध्यता रहेकाे प्रमुख जिल्ला अधिकारी गाेविन्द रिजालले बताए । बंगलाचुलीमा एकजना चिकित्सकसँगै ३ जना स्वास्थ्यकर्मीको निगरानीमा संक्रमितहरू रहेका छन् भने घोराहीको क्वारेन्टाइमा एकजना चिकित्सकसहितको जनशक्तिको निगरानीमा संक्रमितहरू रहेका छन् ।
उनीहरु घोराही उपमहानगरपालिकाका ९ जना र बंगलाचुली गाउँपालिकाका ८ जना संक्रमित रहेका छन् । बंगलाचुली, घोराही, र राप्ती गाउँपालिकामा १७ जना संक्रमित देखिएका थिए । ती मध्ये राप्ती गाउँपालिकाले दाङका अस्पतालले उपचार गर्न नमान्दा २ जनालाई नेपालगन्ज स्थित सुशील कोइराला मुटुरोग अस्पताल पठाएको छ भने अन्यको कुइरेपानीमा रहेको क्वारेन्टाइमा राखेर उपचार शुरु गरिएको घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिए ।
उनले आइसोलेसन बेड छुट्याइएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत अस्पतालमा राख्नका लागि आग्रह गर्दा नमानेको बताए । आइसोलेसन बेड छुट्याउँदा हल्लाखल्ला गरेको अस्पतालले अहिले संक्रमतिलाई भने राख्न मानिरहेका छैनन् । अहिले प्रतिष्ठानमा १० बेडको आइसोलेसन तयार भएको छ । तर त्यहाँ संक्रमितलाई राख्न मानिएको छैन ।
त्यस्तै बुद्ध इनरनेशनल अस्पताल घोराहीमा ३ बेड, गोर्खा अस्पताल घोराहीमा ५ बेड, मितेरी अस्पताल घोराहीमा ३ बेड, दीपज्योति अस्पताल तुलसीपुरमा ३ बेड, राप्ती प्रोदशिक अस्पताल तुलसीपुरमा ३ बेड, राप्ती लाइफ केयर अस्पताल तुलसीपुरमा ३ बेड, चिनारी अस्पताल तुलसीपुरमा ५ बेड, तुलसी बाल अस्पताल तुलसीपुरमा ६ बेड, तुलसी सिटी अस्पताल तुलसीपुरमा ३ बेड, देउखुरीको लमही अस्पतालमा ३ बेड, फ्लोरेन्स अस्पतालमा १० बेड, सिसहनियाँ स्वास्थ्य चौकीमा ४ बेड, राजपुर स्वास्थ्य चौकीम ४ बेड, राजपुर स्वास्थ्य चौकीमा ३ बेड र सेनाको १९ नम्बर बाहिनी तुलसीपुरमा २ बेड रहेको जिल्ला आपतलकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । तर यी अस्पतालमा अहिले संक्रमित राखिएको छैन । बरु राप्ती गाउँपालिकाले २ जना विरामीलाई नेपालगन्ज पठाउने अवस्था आएको छ ।
काम नगर्ने तर प्रचार गर्नाले समस्या भयोः प्रजिअ : रिजाल
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले काम नगर्ने, प्रचार गर्ने बानीले अहिले कोरोना संक्रमितको उपचार गर्न समस्या भएको बताएका छन् । कारेना संक्रमणको जोखिम हुँदा आइसोलेसन बेड छुट्याएका छौँ भनेर प्रचार गर्नेले नै अहिले कोराना संक्रमितको उपचार गर्न नमानेका बताए । ‘काम नगर्ने, प्रचार गर्ने बानीले अहिले समस्या सिर्जना भएको छ’, उनले भने । ‘हिजो आइसोलेसन बेड छुट्याएका छौँ भनेर प्रचार गर्ने नै अहिले विभिन्न बाहानामा पन्छिन खोज्दा समस्या भएको छ।’
प्रजिअ रिजालले भने आइसोलेसन बेड छुट्याएका अस्पतालाई पटक पटक सम्पर्क गर्दा पनि पञ्छिएको बताए । ‘हिजो बेड छुट्याएका छौँ भन्ने अस्पतालले अहिले नजिकैमा ल्याव छ, सुत्केरी वार्ड छ भनेर पञ्छिने काम गरेका छन्’, प्रमुख जिल्ला अधिकारी रिजालले भने । ‘समस्यादेखि भाग्ने अस्पतालाई नविकरण गर्दा जिल्ला स्वास्थ्य कार्याल्यले नवीकरण रोक्नुपर्छ।’ उनले कोरोना संक्रमितको उपचार गर्न कुनै पनि अस्पताल तयार नभएको बताए ।