कोशी अस्पतालबाट २८ जनाले जिते कोरोना, डिस्चार्ज हुँदै
विराटनगर, नेपालमा कोराना संक्रमित हुनेको संख्या बढे पनि संक्रमणलाई जित्नेको संख्या पनि बढ्दै गएको छ । प्रदेश–१ स्थित कोशी अस्पतालबाट थप २८ जनाले कोरोना संक्रमणलाई जितेका छन् । उनीहरुलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ । उनीहरुको अन्तिम परीक्षण रिपोट नेगेटिभ आएपछि आज डिस्चार्ज गर्न लागिएको अस्पतालले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार उदयपुरका ४, झापाका ७, मोरङका ६, सुनसरीका ४, सप्तरीका २ धनकुटाका ४ र खोटाङका एक गरी जम्मा २८ जना डिस्चार्ज हुँदैछन् । उनीहरुमध्ये ६ जना महिला र २२ जना पुरुष छन् ।
कोरोनामुक्त भएकाहरुलाई बिहीबार दिउँसो डिस्चार्ज गर्ने प्रदेश १ सकारले तयारी गरेको छ । योसँगै प्रदेश–१ मा कोरोना मुक्त हुनेको संख्या ७६ पुगेको छ । यसअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना र विराटनगरबाट ३० जना निको भएर घर फर्किसकेका छन् । प्रदेश–१ मा कोरोना संक्रमितको संख्या १८५ छ ।