धरानमा ग्यास चुहिएर आगलागी : छोरी बचाउन खोज्दा आमाछोरीकै मृत्यु

धरान, सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित स्विमिङ पुल नजिकै एक घरमा आगलागी हुँदा आमा छोरीको मृत्यु भएको छ।

स्थानीय नरबहादुर श्रेष्ठको घर आज (बिहीबार) बिहान सुरुमा विद्युत सर्ट भएर आगो लागेको थियो। आगोसँगै खाना पकाउने ग्यास पड्किदा नरबहादुरकी श्रीमती धनमाया श्रेष्ठ र अशक्त छोरी सीताको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

प्रहरीका अनुसार आगलागी भएपछि अशक्त छोरीलाई बचाउन धनमाया घरभित्र पसेकी थिइन्। उनी पस्नासाथ ग्यास विस्फोट भएको थियो । विस्फोटबाट दुवै जनाको घटनास्थलमै मृत्यु भएको हाे।

स्थानीयले आगलागी भइराखेको घर भित्र नपस्न पटक पटक आग्रह गर्दा पनि छोरी भित्रै छिन् भन्दै चिच्याएर धनमाया घर भित्र छिरेकी थिइन्। उनी छोरी नजिक पुग्न नभ्याउँदै ग्यास विस्फोट भएको प्रत्यक्षदर्शीले बताए ।

आगो करिब दुई घण्टापछि नियन्त्रणमा आएको थियो। धरान उपमहानगरपालिकाबाट ढिलो पुगेको दमकल र स्थानीय वासिन्दाले आगो नियन्त्रणमा लिएका हुन्। आगलागीबाट नरबहादुरको गरगहना, लत्ताकपडा, खाद्यान्न, भाडावर्तन जलेर नष्ट भएका छन्।