कर्णालीमा एकैदिन १०६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ३ सय ८४

बिरन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशमा थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १ सय ५ जनासहित मुगुका १ जना गरी १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थपिएका १ सय ६ जनासँगै २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख विदेक पुनमगरले जानकारी दिएका छन् ।

उनका अनुसार आज संक्रमण पुष्टि भएका दैलेखको नारायण नगरपालिकाका ६४ जना पुरुष र ५ जना महिला, देवलकाँडाका १२ जना पुरुष, सोतका ९ जना पुरुष, मानटाकुराका ७ जना पुरुष, साडुका २ जना पुरुष भगनीका ५ जना पुरुष र बासकोटका १ जना पुरुष रहेका छन् ।

पछिल्लो समय कर्णाली प्रदेशमा संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको छ । कर्णाली प्रदेशमा अरु प्रदेशको तुलनामा ढिलागरी संक्रमण देखिएपनि भारतबाट आएकाहरु प्रदेशमा भित्रिएसँगै संक्रमित पनि थपिँदै गएका हुन् ।

योसहित कर्णाली प्रदेशमा संक्रमित हुनेको संख्या ३ सय ८४ पुगेको छ ।