स्वास्थ्य संकटकाल घोषणाको तयारीमा सरकार

काठमाडौ,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने भएको छ । मन्त्रालयको बुधबारको बैठकले ‘हेल्थ इमर्जेन्सी’ घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लग्ने निर्णय गरेको हाे  ।

बैठकको निर्णयको २ नम्बर बुँदामा मा २ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएकोले .संक्रामक रोग ऐन २०२० अन्तर्गत् हेल्थ इमर्जेन्सी घोषणाको प्रस्ताव गर्ने उल्लेख गरिएको कोभिड इन्सिडेन्ट कमान्ड सिस्टम प्रमुख डा. गुणराज लोहनीले बताए।  । 

नेपालमा कोरोना संक्रमितको संख्या २३ सय पुगेको छ। योसँगै संक्रमणको दर दोस्रो चरणमा प्रवेश गरेको छ। दुई सय ७८ जना संक्रमणमुक्त भएका छन्। दुई हजार २२ जनाको उपचार भइरहेको छ।

डा. लोहनीले भने, ‘दुई हजार सक्रिय केस पुगेपछि ‘पब्लिक हेल्थ इमर्जेन्सी’ लगाउने योजना पास भइसकेको छ।‘ मन्त्रालयले यसको तयारी गरिरहेको उनले बताए। संकटकाल घोषणा मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले गर्ने व्यवस्था छ।

के छ सरकारको रेस्पोन्स प्लान

कोभिड १९ कोरोना भाइरस संक्रमितको संख्या दुई हजार पुगेपछि दोस्रो चरणमा प्रवेश गरेको मान्ने व्यवस्था प्लानमा छ। सोहीअनुसार जनस्वास्थ्य संकटकाल घोषणा गरिनेछ। संकटकाल घोषणा भएपछि देखापर्ने संक्रमितलाई घरमै आइसोलेसनमा राखिनेछ।

यसपछि विश्व स्वास्थ्य संगठनले घोषणा गरेको ग्लोबल इमर्जेन्सी र महामारीका सर्त स्वतः लागू हुनेछन्।

२ हजारदेखि ५ हजारसम्म संक्रमित पुगेमा दोस्रो चरणको उपचार रणनीति लागू हुनेछ। ५ हजारदेखि १० हजार संक्रमित पुगेमा तेस्रो चरणको उपचार रणनीति लागू हुनेछ। यसपछि स्वास्थ्य समस्या भएका संक्रमितलाई मात्र अस्पताल भर्ना गरिनेछ।

अन्यलाई भने घरमै क्वारेन्टिनमा राखिने र समस्या भएमा मात्र अस्पताल लगिनेछ। यस्तो अवस्थामा अधिकतम ८ हजार संक्रमितलाई सामान्य उपचार तथा आइसोलेसनमा राख्नुपर्ने हुन्छ।

१५ सय जनालाई अक्सिजन चाहिने र पाँच सय संक्रमितलाई आईसीयूमा राख्नुपर्ने अवस्था आउन सक्ने मन्त्रालयको अनुमान छ। मन्त्रालयले साेहीअनुसार तयारी थालेकाे डा. लाेहनी बताउँछन्।

१० हजारभन्दा बढी मानिसमा संक्रमण भएपछि चौथो चरणको रणनीति लागू हुनेछ। त्यसपछि सबै अस्पतालमा कोभिड १९ को बिरामी राख्ने योजना मन्त्रालयको छ।

उक्त योजनाअनुसार दुई हजार भन्दामाथि पाँच हजारसम्म संक्रमित भएको अवस्थामा बढीमा चार हजारलाई सामान्य उपचार तथा आइसोलेसन बेड, सात सय ५० जनलाई अक्सिजन र दुई सय ५० जना संक्रमितलाई आईसीयूमा राख्नुपर्ने अवस्था आउन सक्छ।

१० हजारभन्दा माथि संक्रमित भएमा देशका सबै अस्पतालमा कोभिडका बिरामीको उपचार गरिनेछ भने १५ सय भन्दा बढीलाई अकिसजन र पाँच सय भन्दा बढीलाई आईसीयू चाहिने मन्त्रालयको अनुमान छ।