समाचार प्रभाव : राप्ती नदीमा उत्खनन् नगर्न गढवा र राप्ती गाउँपालिकालाई परिपत्र

नदीमा हेभी मेसीन र औजारहरु प्रयोग नगर्न आग्रह (पत्रसहित)

भालुवाङ, दाङको राप्ती, गढवा गाउँपालिका र लमही नगरपालिकालाई राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले परिपत्र गरेको छ । राप्ति  नदीमा ठुला मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् नगर्न, नगराउन राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति खुमलटार, ललितपुरले गढवा गाउँपालिका,  राप्ती गाउँपालिका र लमही नगरपालिकालाई परिपत्र गरेको हो  ।

कुसेन्युन  डटकमले निरन्तर रूपमा समाचार प्रकाशन गर्दै आइरहेकाे थियाे ।  मंगलबार  मात्रै “जब सार्वजनिक स्थानमै अध्यक्ष र उपाध्यक्ष बीच लफडा शुरु भयो, अनि गल्ती स्वीकार्दै अध्यक्ष यादवले मागे माफी” शिर्षक र सोमबार “दाङको राप्ती नदीमा डोजर प्रयोग, स्थानीयबासी र ठेकेदार पक्षबीच झडप” शिर्षकमा समाचार प्रकाशन तथा प्रसारण भएपछि राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाउँदै तत्काल राप्ती नदीमा ठुला मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् नगर्न, नगराउन गढवा गाउँपालिका र राप्ती गाउँपालिकालाई परिपत्र गरेको हो ।

दाङको देउखुरी स्थित राप्ती र गढवा गाउँपालिका क्षेत्र अन्र्तगत पर्ने राप्ती नदीका क्षेत्रहरुबाट विभिन्न बहानामा ठुला मेसिन औजारहरु डोजर, स्काभेटर, जेसिबीको प्रयोग गरी मापदण्ड विपरित अवस्थित रुपमा नदी पदार्थ उत्खनन्, संकलन भइरहेको र जसका कारण खेती योग्य जमिन, आबादी क्षेत्र, सिचाई इन्टेक तथा कुलोहरु समेतमा जोखिम बढेको थियाे ।

स्थानीय सामाजिक जनजीवन प्रभावित भई सामाजिकद्धण्द्ध बढेको भन्ने स्थानीयबासीहरुको पत्र प्राप्त भएको तथा विभिन्न संञ्चारमाध्यम, सामाजिक सञ्जाल (फेसबुक, युटुब) र फोनको माध्यमबाट ब्यापक जनगुनासो आईरहेकोले नेपाल सरकार मन्त्री परिषद्को मिति २०७० असार २७ गते र २०७० भदौ १७ गतेको निर्णय र ५ नम्बर प्रदेश सरकारको नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ बिपरीत भएकोले ठुला मेसिन औजारहरुको प्रयोग गरी भईरहेका नदीजन्य पदार्थ उत्खनन्, संकलन कार्यहरु तत्काल बन्द गर्न उक्त विकास समितिको मिति २०७७ जेष्ठ २० गतेको पत्र संख्या २०७६÷०७७, चलानी नम्बर ८८६ रहेको पत्र सहित दाङको गढवा गाउँपालिका र राप्ती गाउँपालिकालाई अनुरोध गरेको छ ।

साथै पत्रमा स्वीकृत वातावरणीय परिक्षण प्रतिवेदन र समितिबाट सहमति लिंदा तोकिएको चौहद्दी क्षेत्रबाट मात्र तोकिएको नाप अनुसारको परिमाणमा तोकिएका सर्तहरु र प्रचलित नियम, कानुनलाई पूर्ण रुपमा पालना गरी कार्यान्वयन गर्न गराउन राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका उप—सचिव प्राध्यापक राजन रेग्मीको हस्ताक्षण सहितको पत्र मार्फत दाङको गढवा गाउँपालिका र राप्ती गाउँपालिकालाई अनुरोध गरेको छ ।

साथै उक्त पत्रको बोधार्थ दाङका जिल्ला अनुगमन तथा समन्वय समिति, जिल्ला समन्वय समितिको कार्यालय दाङ, जिल्ला प्रशासा कार्यालय दाङ, डिभिजन वन कार्यालय दाङ, कार्यक्रम कार्यन्वयन इकाई राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति बुटवल रुपन्देहीलाई समेत पठाएको छ ।

यो पत्र जारी भएपछि राप्ती नदी बचाउ संरक्षण संघर्ष समिति भालुवाङ दाङलाई ऐतिहासिक ठुलो सफलता हासिल गरेको छ । समितिका अध्यक्ष टोपबहादुर कार्कीले यो सफलता हामी सम्पूर्ण देउखुरीबासी तथा किसानहरुको ठुलो सफलता भएको बताएको छन् । उनले यो आन्दोलन तथा अभियान देउखुरीव्यापी बनाउने समेत बताएका छन् ।

दाङ—देउखुरीको राप्ती गाउँपालिका—१ पाखापानीमा भेला भएर गठन भएको राप्ती नदी बचाउ संरक्षण संघर्ष समितिले केहि दिनयता देखि चरणबद्ध रुपमा आन्दोलनमा उत्रिएको थियो । देउखुरीको राप्ती, गढवा, राजपुर र लमही नगरपालिका लगायतका स्थानमा पर्ने राप्ती नदीमा ठुला मेसिन औजार(डोजर, स्काभेटर, जेसिबी) लगाएर मापदण्ड विपरित अवस्थित तथा अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन्, संकलन भइरहेका भन्दै तत्काल यस्ता कार्य रोकिनु पर्ने माग सहित ठुला मेसिन औजारहरु डोजर, स्काभेटर, जेसिबी प्रयोग भएकै स्थानमा उत्खनन् पक्षहरु संग प्रतिकारमा उत्रिएका थिए ।

गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले नियम मिचेर अवैध रुपमा ठेकेदारहरुलाई राप्ती नदीमा स्काभेर प्रयोग गर्न दिएको विषयलाई लिएर मंगलबार ईलाका प्रहरी कार्यालय गढवाको कार्यालय परिसरमा भएको छलफलमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष बीच चर्काचर्की हुनुका साथै हात हालाहालको अवस्था समेत सिर्जना भएको थियो ।

 

छलफलका क्रममा उपाध्यक्षले राखेको अडान र स्थानीयको माग बमोजिम राप्ती तथा सहायक नदीमा स्काभेटर जेसिभी मेसिन लगाउन नमिल्ने बैठकले निश्कर्ष निकालेपछि गाउँपालिका अध्यक्ष सहजराज यादवले बैठकमै सार्वजनिक रुपमा हात जोडेरै माफी समेत मागेका थिए । यता अध्यक्ष यादवले सार्वजनिक रुपमा हातजोडेर माफी मागेको भिडियो समेत यतिबेला सामाजिक सञ्जाल फेसबुक तथा युटुबमा भाइरल बनेको छ ।

यस्तो छ पत्र

यस्तो लमही नगरपालिकालाई पनि पत्र

त्यस्तै लमही नगरपालिकालाई पनि पत्र पठाइएको छ । नदीमा ठुला मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् नगर्न, नगराउन राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति खुमलटार, ललितपुरले परिपत्र गरेको हो ।