कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ७८

बिरेन्द्रनगर,सुर्खेत कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । बुधबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । 

कर्णाली प्रदेश अस्पताल सुर्खेत स्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्थित प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । 

तिवारीका अनुसार संक्रमित हुनेमा कालिकोटका चार महिने शिशुसहित ७ जना, सल्यानका दुई जना, दैलेखका ७ जना रहेका छन् । कालिकोटको महाबै गाउँपालिका–२ का २२ वर्षीय पुरुष, वडा नम्बर ४ का ४ महिने शिशु र २८ वर्षीय, तिलागुफा नगरपालिका २ का २१ वर्षीय पुरुष, पलाँता गाउँपालिका ७ का ४२ वर्षीय पुरुष, शुभकालिका गाउँपालिका ३ का २१ वर्षीय पुरुष, सान्नीत्रिवेणी गाउँपालिका २ का २० वर्षीय महिलामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै सल्यानको कुमाख गाउँपालिका ३ का १९ र २४ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको बताइएकाे छ । त्यसैगरि दैलेखको नारायण नगरपालिका २ का २०, २४, २५, २५, ३० वर्षीय पुरुष, दुल्लु नगरपालिका २ का १७ वर्षीय पुरुष र नौमूले गाउँपालिका ८ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । याेसंगै  कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या दुई सय ७८ पुगेको छ ।