संक्रमित बढेको भन्दै जुम्लामा ३ दिन निषेधाज्ञा जारी

जुम्ला, कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि जुम्लामा ३ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । जुम्‍लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार जुम्लामा भारतबाट आएका नागरिक र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यसलाई समुदाय स्तरमा फैलिन नदिन निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञाको अवधिभर कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गर्दै सुचना जारी समेत गरिएकाे छ ।  निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेका सबै पसलहरु बन्द हुने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

बुधबार बिहान ९ बजेदेखि जिल्ला भित्रका औषधि पसल, उपकरण तथा औषधि सामग्री उत्पादन, बिक्री वितरण र ढुवानी सेवा बाहेक अन्य सबै पसल बन्द हुन्ने सूचनामा जनाइएको छ । जुम्लामा मंगलबारसम्म दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म खाद्यान्न, फलफुल, तरकारी लगायतका पसलहरु खुल्दै आएका छन् ।