जग्गा विवादले उग्ररुप लिँदा सप्तरीमा झडप, ८ राउण्ड हवाई फायर

सप्तरी, जग्गा विवादको विषयलाई लिएर सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आज (बुधबार) बिहान दुई पक्षबीच झडप हुँदा १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी प्रवक्ता तिलक भारतीका अनुसार झडपका क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड हवाई फायर समेत गरेको थियो ।

प्रवक्ता भारतीका अनुसार, जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप भएको हो । दुवै पक्षले एकअर्कामाथि घरेलु हतियारले आक्रमण गरेका थिए ।

घटनामा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ ।