एक मालपोत अधिकृतसँग १० करोड २७ लाखको अबैध सम्पत्ति

काठमाडौं, एकजना मालपोत अधिकृतले १० करोडभन्दा धेरै अवैध सम्पत्ति आर्जन गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रीराज ढकालविरुद्ध १० करोड २७ लाख गैरकानूनी सम्पत्ति आर्जन आर्जन गरेको दाबी गर्दै अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार मालपोत कार्यालयहरुमा कार्यरत रहँदा जग्गा दर्ता लगायतका गैरकानुनी कार्यबाट उनले अकूत सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको जानकारी दिएका छन्। करोडौं अकुत आर्जन गरेका उनी २०५४ सालसम्म अस्थायी शिक्षक थिए। त्यसपछि उनी २०५५ खरिदारबाट निजामति सेवामा छिरेका थिए। उनी हाल मालपोत अधिकृतमा बढुवा भइसकेका छन्।

उनले खरिदारबाट अधिकृतसम्म फड्को मार्दा मालपोत कार्यालयहरु तनहुँ, कास्की, डिल्लीबजार काठमाण्डौ, पर्सासमेतमा काम गरेका थिए। उनी पछिल्लो पटक मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत छन्। सम्पत्ति लुकाउन साली र जेठान प्रयोग ढकालले सरकारी सेवामा प्रवेश गरेपछि रातारात अकूत सम्पत्ति जोडेर पनि आफ्नो नाममा राखेका थिएनन्।

उनले साली नाता पर्ने एकजना महिलाको नाममा सवारी साधन खरिद गरेर प्रयोग गर्दै आएको प्रवक्ता कोइरालाले जानकारी दिएका छन्। आफ्नो नाममा सम्पत्ति नराखेका उनले आफू र आफ्नो परिवारका सदस्यहरुको नाममा पनि बैंक तथा वित्तीय संस्थाहरुका खाताबाट पनि कारोबार गरेको नदेखिएको कोइरालाले बताए।

आफूले गैरकानुनी रुपमा आर्जित स्रोत खुलाउन नसक्ने अवैध आर्थिक कारोवारलाई लुकाउन हाल अष्ट्रेलियामा रहेका जेठान नाता पर्ने नवराज अर्यालको नाममा जनता बैंकमा खाता खोलेर कारोबार गरेको पाइएको छ। उक्त खाता खोलेकै दिन खाता सञ्‍चालकबाट खाता सञ्‍चालनको अनुमति ढकालले लिएका थिए। त्यसैबाट आफू अनुकूलका व्यक्तिहरु अन्यका नामबाट खातामा पैसा जम्मा गराएर त्यही खाताको रकमबाट आफूले किनेका जग्गाका धनी र विक्रेतालाई दिने गरेको खुलेको छ। त्यही खाताबाट ढकालले चार करोड २६ लाख ९९ हजार २९४ रुपैयाँ कारोबार गरेको खुलेको छ।

ढकालले जग्गा कारोबारमा पनि अनेक प्रपञ्च गरेको अख्तियारले पत्ता लगाएको छ। एकै दिनअघि किनेको जग्गाको मूल्यमा करोडौं फरक पर्ने गरी आफ्नो नाममा पास गराएको पनि भेटिएको छ। ढकालले तनहुँमा रहँदा स्थानीय डेकबहादुर गुरुङ्गलाई प्रभावमा पारी उनी र श्रीमतीको नाममा दर्ता कायम रहेका जग्गा खरिद बिक्री कारोवार नै नगरी लिखतमा सरकारी न्युनतम मूल्य उल्लेख गरेर खरिद बिक्री कारोवार देखाएको खुलेको छ।

उनले यसो गरेर ती जग्गा आफ्नो नाममा ल्याई पुनः जग्गा फिर्ता गर्दा लिखतमा अत्यधिक मूल्य खुलाई उक्त जग्गाहरु डेकबहादुर र श्रीमती तथा डेकबहादुरका दिदी/ भिनाजु र बहिनीका नाममा बिक्री लिखतले स्वामित्व हस्तान्तरण गरेको भेटिएको छ। उनले त्यो गर्दा हुँदै नभएको खरिद बिक्री कारोवारमा एक लाख ९७ हजारको लगानीको केही दिन र महिनाको अन्तरालमै एक करोड ६८ लाख आम्दानी गरेको देखाई गलतरुपमा आयस्रोत बढाएको समेत अनुसन्धानबाट खुलेको प्रवक्ता कोइरालाले बताए।