दाङको बेलझुण्डीमा ‘प्याक’ भएपछि कोरोना संक्रमितलाई अन्तै राखियो

दाङ,  दाङको कोरोना बिशेष अस्पताल बेलझुण्डीका आईसोलेसन बेड प्याक भएपछि सोमबार पुष्टि भएका कोरोना संक्रमितहरुलाई घोराहीको कुहिरेपानीमा राखिएको छ । बेलझुण्डीमा ५० जनाको मात्रै क्षमता भएकाले थप संक्रमितलाई घोराही उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको क्वारेन्टिनमा राखिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।

उनका अनुसार यस अघि उपमहानगरपालिकाले क्वारेन्टिन सञ्चालनमा रहेको भएपनि अहिले संक्रमित भेटिएपछि त्यही क्वारेन्टिनलाई व्यबस्थापन गरि आइसोलेसन निर्माण गरिएको हो । घोराही उपमहानगरपालिका वडा नं. ३ कुहिरेपानी क्वारेन्टिनमा अहिले संक्रमित बाहेक अन्य ब्यक्तिलाई राखिएको छैन् । अहिले त्यहाँ ९ बेडको आइसोलेसन निर्माण गरिएको भएपनि आगामी दिनमा आबश्यकता अनुसार थप गर्ने उनको भनाई छ ।

अहिले जिल्लामा संक्रमितको संख्या बढिरहेको भन्दै अन्य स्थानीय तहहरुमा पनि बेड थप्ने कार्य भइरहेको समेत उनले बताए । बेलझुण्डीमा एकसय बेड भनिएपनि ५० जना विरामीलाई मात्रै राखिदै आइएको छ । एकजना संक्रमितलाई दुईवटा वेड आबश्यक पर्ने भन्दै अहिले त्यहाँ ५१ जना संक्रमितलाई मात्रै ब्यबस्थापन गरिएको छ ।

सोमबार घोराही उपमहानगरपालिका वडा नं. १ का ३० बर्षका पुरुष र ११ बर्षिया बालिकामा कोरोना देखिएको छ । त्यस्तै वडा नम्बर २ का २६, ४०, ४५, ४६ बर्षमा चार जना पुरुष र १९ बर्षिया किशोरी, वडा नम्बर ५ का ५३ बर्षिय पुरुष र वडा नम्बर १७ का २० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु सबै भारतबाट मजदुरी गरेर आई सम्बन्धित वडा कार्यालयले बनाएको क्वारेन्टाईनमा बसेका थिए । यो सँगै घोराही उपमहानगरमा संक्रमतिको संख्या १७ पुगेको छ भने दाङमा संक्रमितको संख्या ४३ पुगेको छ ।

घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले आईसोलेसनमा दुईजना स्वास्थयकर्मी र एक जना डाक्टरलाई खटाईएको छ । अनलाईनमा राखिएको हुदा केही लक्षण देखिए डाक्टरले अनलाईनबाट हेर्ने स्वास्थ्य शाखा प्रमुख घर्तीले जानकारी दिए ।
त्यसैगरी अस्पतालमा सुरक्षाकर्मी, लगाएर खानपिन लगाएकको उचित व्यवस्था गरिएको जानकारी दिए । संक्रमितहरुमा केही लक्षण देखिएमा राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानमा लगिने उनले बताए ।