तपाई साउदीमा हुनुहुन्छ ? स्वदेश फर्कनुपर्ने भए यी विवरण उपलब्ध गराउनुहोस्

साउदी , साउदीमा समस्यामा परेका नेपालीलाई स्वदेश फिर्तीका लागि थप विवरण उपलब्ध गराउन साउदीस्थित नेपाली दूताबासले अनुरोध गरेको छ । स्वदेश फर्कनै पर्ने अवस्थामा रहेकाले आफ्नो विवरण टिपाएको भए पनि स्वदेश फिर्तीका लागि थव विवरण आवश्यक भएको भन्दै इमेल र फोनमार्फत विवरण टिपाउन अनुरोध गरिएको दूतावासले जनाएको छ ।

स्वदेश फर्कनका लागि बहिर्गमन भिसा लागेका, करार अवधि सकिएका, रोगजारी गुमाएका, एक्जिट भिसा लागेका महिला, गर्भवती, पारिवारिक भिजिट भिसामा पुगेकाहरु, अकामा नवीकरण नगरिएका वा नबनाइएका, आफन्तको मृत्यु भएका, कोरोनाबाहेक अरु बिरामीहरु, रोजगारीसहित बिदामा गएका अध्ययन सकेर नेपाल फर्कनुपर्ने विद्यार्थी लगायतले फारम भरेका छन् । उनीहरुको स्वदेश फिर्तीका लागि दूतावासले समन्वय गर्ने हुँदा थप विवरण भर्न दूतावासले अनुरोध गरेको छ ।

बिरामी भएकाहरुले चिकित्सकको प्रमाणपत्र, औषधिको प्रेस्किप्सन । (जहाजमा उड्न कठिनाइ हुने बिरामीलेसमेत यो विवरण खुलाउनुपर्नेछ ।) आफन्तको मृत्यु भई काजकिरियाका लागि नेपाल फर्कनुपर्नेले कारणसहितको स्वघोषणा । नेपाल फर्कनुपर्ने विध्यार्थीहरुको अध्ययन सकिएको वा बिदा आदिको कागजात विवरण दूतावासको इमेल र ०५०००३१७०५ नम्बरमा ह्वाट्स्एपमार्फत पठाउन अनुरोध गरेको छ ।

आभा खमीस, नजरान, जिजान, आभा, बाहा, बलजुरैसी, बिसा, ताइफ, मक्का, मदिना, जेद्दा, यम्बु, ताबुक, लगायतका स्थानमा कार्यरत तर नेपाली राजदूतावास रियादले आह्वान गरेको अनलाइन फारम फरेका सबैको विवरण एकीकृत गरी नेपाली महाबाणिज्य दूतावास, जेद्धामा पठाइएकोले त्यहाँ सम्पर्क गर्न अनुरोध गरिएको दूताबासले जनाएको छ । अकामा नवीकरण नगरिएका, नबनाइएका, कम्पनी छाडी अन्यत्रै काम गरिरहेका लगायतलाई स्वदेश फर्काउने सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय भइरहेको दूतावासले जनाएको छ ।