दाङ मन्दिप हत्याका अभियुक्तहरु तुलसीपुरमा सार्वजनिक

दाङ, दाङमा मन्दिप भुजको हत्यारालाई प्रहरीले आईतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । तुलसीपुर ९ अटोभिलेज स्थित रेडियटर मर्मत पसल सञ्चालक समेत रहेका २८ बर्षीय भुजको उनकै साथीहरु मिलेर हत्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

डिएसपी हरिहरनाथ योगीले पत्रकार सम्मेलन मार्फत जानकारी दिदै गत जेठ १६ गते शुक्रवार राती अटोभिलेज नजिकै रहेको चौधरी होटेलमा साथीहरु संगै मादक पदार्थ सेवन गरी सामान्य विवाद हुदा उनको हत्या भएको बताएका छन् । शनिवार विहान मृत फेला परेका भुजको सुक्ष्म अनुसन्धान गर्दा घटना घटेको ६ घण्टा भित्र केहिलाई नियन्त्रणमा लिदा हत्यारा पत्ता लगाउन सफल भएको उनले बताएका छन् ।

उनका अनुसार तुलसीपुर ५ बस्ने अजय बुढाथोकी, सोही वडाका आषिश नेपाली, तुलसीपुर १८ बस्ने ओमबहादुर सार्की र अर्घाखाँची जिल्ला ढिकुरा वडा नम्वर घर भई हाल तुलसीपुर ६ बस्ने शौरभ पोख्रेल मिलेर भुजको हत्या भएको हो । ती चार जना अभियुक्त मध्ये सुरुमा शौरभ पोख्रेलले ढुङगा प्रहार गरी गम्भिर घाईते बनाएपछि अन्य तीन जना घटना सलग्न भएको अनुसन्धानबाट खुलेको डिएसपी योगीले बताएका छन् ।

होटेलमा संगै बसेर मापसे गरी होटेलमा होहल्ला गर्दा होटेलकी साहुनीले अवेर भयो घर जानुस् भनेपछि उनीहरु त्यहाबाट निस्किएको र बाटोमा विवाद हुदा तुलसीपुर– ५ मा रहेको ज्ञानज्योति आधारभूत विद्यालयको नवनिर्मित भवन पछाडि लगेर हत्या गरेको प्रहरीको भनाई छ । उनीहरुले मापसे गरी लागु औषध समेत सेवन गरेको पाईएको छ । लागु औषध दुव्र्यसनीकै विषयमा एक अर्का विच भनाभान हुदा विवाद भएको हो ।

होटेलमा मापसे गर्दा उनीहरु संगै गएका सुमन बस्नेत र सुनिल विक भने घटना नहुदै घर गएका थिए ।यस्तै उनीहरु संग मापसे गरेका अर्का टिकम बु्ढामगर पनि उनीहरुको विवाद हुदा त्यहि भएको र झगडा नगर भनि उनी घर गएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।उनीहरु घर गईसकेपछि मृतक भुज सहित पाँच जनाको विचमा विवाद हुदा उक्त घटना भएको हो ।