यी हुन् कोरोना संक्रमणबाट आजसम्म ज्यान गुमाउने ८ जना

काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणबाट आजसम्म ८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख र बाजुराका १-१ जनाको मृत्यु भएको हाे।

मृत्यु हुनेमा ६ पुरुष र २ महिला छन्। यस्तै उमेर समूहमध्ये एक जना २ वर्षीया बालिका छिन् भने एक जना ७० वर्षीय पुरुष छन्। चार जनाकाे उमेर २५ वर्षमाथि र ४१ वर्षमुनि छ। एक जना ५६ वर्षका छन्।

मृतकमध्ये चार जना भारतबाट फर्किएका हुन्। तीमध्ये ३ जनाको क्वारेन्टिनमा बसेका बेला निधन भएको हो। एकजनाको भने भारतबाट आउँदाआउँदै बाटैमा मृत्यु भएको थियो।

अन्य मृतकमा एकजना सुत्केरी, एकजना मिर्गाैला रोगी, एकजना कलेजोका बिरामी छन्। यी सातैजनाको मृत्युपछि मात्र कोरोना संक्रमित पुष्टि भएको थियो। एकजनाको भने कोरोना संक्रमण भएर उपचारका क्रममा निधन भएको थियो।

पहिलोपटक जेठ १ गते सिन्धुपाल्चोक बाह्रबिसे ९ की २९ वर्षीया सुत्केरी महिलाको ज्यान गएको थियो। उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। उनको निधन भएको दुई दिनपछि मात्र मन्त्रालयले कोरोना संक्रमणबाट ज्यान गएको पुष्टि गरेको थियो।

कोरानाबाट मृत्यु भएका अर्का व्यक्ति हुन् बाँकेका २५ वर्षीय युवक। ती युवकको जेठ ४ गते बाँकेको नरैनापुरको भगवानपुरस्थित दीपेन्द्र प्राविमा क्वारेन्टाइनमा मृत्यु भएको हो। उनी भारतको मुम्बईबाट आई क्वारिन्टनमा बसेका थिए।

सुत्केरी महिलाको जस्तै ती युवकको पनि मृत्युपछि मात्र कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो। कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने तेस्रा व्यक्ति हुन् गुल्मी मदाने गाउँपालिका ६ निवासी ४१ वर्षीय पुरुष। उनको रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा जेठ ८ गते निधन भएको थियो। उनी भने कोरोना संक्रमण भएर उपचार गराइरहेका थिए।

बाराको करैयामाई गाउँपालिका ७ का ७० वर्षीय पुरुषको पनि कोरोना भाइरसबाट निधन भएको थियो। वीरगन्जको नेसनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भए पनि स्वाब परीक्षण गर्दा उनलाई कोरोना संक्रमण भएको पछि मात्र पुष्टि भएको थियो। उनी मिर्गौलामा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।

यस्तै ललितपुर महानगरपालिका–२२ बुंगमतीका ५६ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट जेठ १४ गते निधन भएको थियो। कलेजोमा समस्या देखिएपछि किस्ट अस्पताल भर्ना भएका उनको निधनपछि मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

कोरोना भाइरसबाट मृत्यु भएका अर्का व्यक्ति हुन् अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३० वर्षीय पुरुष। उनको जेठ १० गते भारतबाट फर्किने क्रममा बाटोमै मृत्यु भएको थियो भने शव नेपाल ल्याइएपछि स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

यस्तै दुल्लु नगरपालिकाका ३५ वर्षीय पुरुषको दुल्लुमा रहेको नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा जेठ १७ गते निधन भएको थियो। उनी भारतबाट १० दिनअघि फर्किएका थिए। उनको पनि निधनपछि मात्र कोरोना संक्रमण पुष्टि भएको थियो।

आइतबार जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा मृत्यु भएकी बालिकाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ। सेती प्रादेशिक अस्पताल धनगढीमा परीक्षण गरिएको स्वाबमा बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो।

सुदूरपश्चिम प्रदेश स्वाथ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बालिकासँगै आमालाई पनि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। ती बालिकासहित उनका बाबुआमा केही दिनअघि भारतबाट आएर गाउँकै क्वारेन्टिन बसका थिए।

माघ ९ गते पहिलोपटक कोरोना संक्रमण देखा परेको नेपालमा अहिलेसम्म १५६७ जना संक्रमित भएका छन्। यीमध्ये २२० जना उपचारपछि घर फर्किएको मन्त्रलायले जनाएको छ।