बाबुराम भट्टराईको प्रस्ताव : ‘सबै नेपालीको थर कामी राखौं’

काठमाडौं, समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले थर परिवर्तनको प्रस्ताव गरेका छन् । प्रतिनिधिसभा बैठकमा आइतबार बजेटमाथिको छलफलका क्रममा उनले रुकुम पश्चिमको घटनालाई मध्यनजर गर्दै वर्णाश्रम व्यवस्था परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

‘पढेलेखेका हामीजस्ता बाहुन मान्छे श्रम गर्न हुन्न भनेर बस्ने, उपदेश दिएर बस्ने’, भट्टराईले भने, ‘क्षेत्रीहरू कुनैबेला लडाइँ लड्थे होलान्, राजनीतिक स्तरमा त्यो अहिले काम छैन, उनीहरू पनि लडाइँ–बडाइँ भनेर अर्काले गरेको खाएर बस्ने भयो।’

उनले तपाईं हामी सबैले दलित नाम राखिदिउँ भन्ने प्रस्ताव गरे ।

‘विश्वकर्मा लेखौं, कामी लेखौं हामी सबैले थर बदलौं। त्यसो भए बराबरी भइन्छ की’, भट्टराईले भने, ‘नत्र भर्खरै मात्र रूकुममा जे भयो त्यस्तो परिकल्पना गर्न पनि सकिन्न। क्रान्तिको इलाकामा प्रतिक्रान्ति भयो भने देश कहाँ जान्छ ? ‘