बाजुरामा दुई वर्षीया बालिकाको कोरोनाकै कारण मृत्यु, आमा पनि संक्रमित
बाजुरा, जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा आइतबार बिहान मृत्यु भएकी बालिकाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ। सेती प्रादेशिक अस्पताल धनगढीमा परीक्षण गरिएको स्वाबमा बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो।
सुदूरपश्चिम प्रदेश स्वाथ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बालिकासँगै आमालाई पनि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। ‘मृत्यु भएकी दुई वर्षीया बालिका र आमा दुबैलाई कोरोना संक्रमण पुष्टि भएको छ तर, बुबालाई भने नेगेटिभ छ’ अवस्थीले भने, ‘तीनै जना बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा थिए।’
मृत्यु हुने बालिकाको घर बुढीगंगा नगरपालिका–१ घर हो। बालिकासँगै आमा बुबा दुबैलाई जेठ १५ गते आइसोलेसनमा राखिएको जिल्ला अस्पतालले जनाएको छ। भारतबाट आएर गाउँकै धुरालसैन माविको क्वारेन्टिनमा बसेकामध्ये बालिकामा गम्भीर समस्या देखिएपछि जिल्ला अस्पताल लगिएको थियो।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ। यसअघि सिन्धुपाल्चोक, बाँके, दैलेख, गुल्मी, ललितपुर, पर्सा अर्घाखाँचीमा एक-एक जनाले ज्यान गुमाएका थिए।