दैलेखमा क्वारेन्टाइनमा बसेकी महिलाले बच्चा जन्माइन

दैलेख, दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकामा क्वारेन्टाइनमा बसेकी एक महिलाले बच्चा जन्माएकी छन् । गाउँपालिकाले सञ्चालनमा ल्याएको वडा नं २ को पिपलचौतारास्थित जनता आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेकी सोही वडाकी १९ वर्षीया मीना विकले शुक्रबार छोरी जन्माएकी हुन् ।

उनलाई सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा ल्याइएको र राति साढे ९ बजेतिर छोरीलाई जन्म दिएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

मीना र उनका श्रीमान् मनबहादुर यही जेठ १० गते मात्र भारतको कुरदुवारबाट ठाटीकाँध आइपुगेका थिए । नवजात शिशु र सुत्केरी मीनाको स्वास्थ्य अवस्था सामान्य रहेको र आरडिटी रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य केन्द्रले जनाएको छ ।