दलित शब्दको अर्थ र भ्रम !

आखिर के हो दलित शब्द ?

दलित शब्दको शाब्दिक अर्थ हो दलन गरिएको भन्ने हुन्छ , अर्थात ती मानिसहरू जो आर्थिक अनि सामाजिक रूपले पिछडिएका र जसको आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक रूपले प्राचीन कालदेखि उच्च वर्गहरू (बाहुन तथा क्षेत्री आदि हिन्दु जातिहरू) द्वारा शोषण र उत्‍पीडन गर्नको निम्ति समाजमा जातीय बर्ग विभाजन गरिएको थियो , र आज पनि छ ।

दलित नाम कुनै शासक जातले हेपेर दिएको नाम होइन।  बरु यो शब्द आन्दोलनबाट विकसित भएको साझा परिचय हो, साझा नाम हो। २०२४ सालमा गठित नेपाल राष्ट्रिय दलित जनविकास परिषदको नाममा पहिलो पटक प्रयोग गरियो ।

२१ औं शताब्दीको ३० औं दशकदेखि प्रयोगमा आएको दलित शब्दले समग्र मुकुलभरीमा कस्तो समाज वा समुदायलाई समेट्यो ?

राज्य तथा राज्यमा पहुंच राख्ने समुदाय वा जातिहरूको चरम अत्याचार, विभेद, आततायी व्यवहारबाट सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक,धार्मिक जस्ता अधिकार बाट वञ्चित समुदायलाई एक ठाउँमा ल्याउन यो दलित शब्दले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। राज्यले संविधान तथा कानुनतः प्रदान गर्ने अधिकारको लागि लड्ने साझा तथा एकमात्र हतियार नै दलित हो ।

राज्यमा पहुंच भएको वर्ग तथा जातिहरूले फुटको राजनीति स्वरूप दलितलाई फुटाउन थालेको उदाहरण धेरै देखिन्छन्। समग्र वर्ग व्यवस्थापनमा उठेको दलित आवाजलाई अघिल्लो तप्काको केही मानिसले विभिन्न पद लालचमा परेर समय समयमा आन्दोलनलाई मत्थर पारेको देखिन्छ । विभिन्न राजनीतिक दलमा दलितको नाममा मोर्चा हुनु, फुटको विजारोपण बन्न पुगेको छ । 

यद्दपि राजनैतिक आस्थालाई गलत मान सकिन्न । राजनीतिक आस्था जहाँ भए पनि दलितको मुद्दामा एक हुनुपर्ने देखिन्छ, तर राजनैतिक दलले आफ्नो पार्टीगत दायरा भन्दा बाहिर नजान आदेश दिएर मौलिक अधिकारको हनन गरेको पनि हाम्रो समाजमा नयाँ कुरा हैन। त्यो फरक कुरा हो । कि त्यो दलको दायरा भन्दा बाहिर आएर मात्र आन्दोलनको सार्थकता हुन्छ। यसरी हेर्दा समग्र दलित समुदायभित्र फुटको बीउ दलिय दलित मोर्चाले गरेको भन्दा अत्युक्ति नहोला ।

समयसङ्गै सबै राजनीतिक दलहरुले दलितको नाममा छुट्टै मोर्चा बनाउने गरे तर सबैले भोट प्राप्त अस्त्रको रुपमा मात्र प्रयोग गरेको पुष्टि भयो। सबैले चुनावी घोषणा पत्रमा जातीय भेदभावको उन्मूलन गरेको कुरा लेख्ने तर चुनाव पछि दलित प्रतिनिधित्व नगर्ने कुराले अन्तर्निहित विचार र सोच कस्तो थियो भन्ने कुरा स्पष्ट बुझ्न सकिन्छ ।

आन्दोलनको अग्र मोर्चामा दलित समुदाय नभएको हैन, तर सधैं प्रयोग मात्र गरियो भने त्यस बापत सीमित व्यक्तिको व्यवस्थापन गरियो । यही व्यक्ति व्यवस्थापन मा रुमलिएको दलित आन्दोलनले १० वर्षे जनयुद्ध मा चेतनात्मन छलाङ मारेको देखिन्छ भने २०६२(६३ को जन आन्दोलन पछि केही हदसम्म संस्थागत भएको देखिन्छ । ती मध्य समानुपातिक प्रतिनिधित्व र आरक्षण हुन।

आरक्षण र समानुपाति कुरामा विवाद किन आईरहेको छ ?

सदियौं देखि एकलौटी रूपमा राज्यको सबै क्षेत्रमा सिमित जातिको हालीमुहाली थियो, तर समानुपातिक र आरक्षण ले केहि मात्रामा तिनीहरूको अघोषित एकल राजलाई केहि हदसम्म तोडेको छ। त्यो देख्न नसक्ने र परिवर्तनलाई स्वीकार्न नसक्ने एकल जातीय राजतन्त्रात्मक संकीर्णता बोक्ने पाखण्डी हरुले विभिन्न समयमा आरक्षण र समानुपातिकको कुरामा प्रश्न र कुतर्क गर्ने गर्दछन्, यद्यपि अहिलेको आरक्षण र समानुपातिकता अधिकार नभएर दया जस्तो देखिन्छ।

त्यसैले यो अधिकार स्वरूप पाएको हो भन्ने कुरालाई मा स्वीकार गर्न सक्तिनँ। हाम्रो समुदायको केही साथीहरु बाटोमा सङ्गै हिड्नु र एउटै टेबलमा सङ्गै मस्म खाने कुरालाई समानता भएको देख्छन्। समग्र समुदाय कुन अवस्थामा छ, समग्र समुदायको राजनैतिक तथा आर्थिक अवस्था कस्तो छ, सामाजिक समानता कस्तो छ ।

हाम्रो धरातल कहाँ हो, वर्तमान समयमा आफूले महशुस गरेको अवस्थाको प्रभाव र समग्र समुदायमा छ कि छैन, जस्ता कुरा नबुझेर , आफूले निजी स्कुलमा पढ्न पाएको कुरालाई मात्र आधार बनाएर आरक्षण चाहिँदैन भनिरहेको देख्दा, तिनीहरूको मानसिकता देखेर चिन्ता लाग्छ।
यो पनि यथार्थ हो मासिक ४५ हजार खर्च गरेर निजी स्कुलमा पढ्न सक्ने हरुको लागि यो आरक्षण पक्कै हैन् तर समुदायको प्रतिनिधित्व पनि आवश्यक छ।

विभिन्न साथी सङ्गतको लह लहैमा लागेर दलित सामानुपातिकता र आरक्षणको विषयमा आफ्नो तर्क सही सोच्ने सबैले कम्तीमा एकपटक आफ्नो समुदायको वर्तमान स्थितिको तथ्याङ्क हेरौं, अझै पुग्दैन विभिन्न ठाउँमा आफै जाउँ हेरौं , त्यस पछि बहसको थालनी गरौंला। ऐना अगाडि सबैले आफूलाई एक नम्बर नै देख्छ,त्यो कुरा बुझ्न सके दिमागको ढक्कन सजिलै खुल्छ।

दलित समुदायको साथीहरु एक पटक आफ्नो घरको बाबा आमासँग उहाँहरुको जीवनी सुन्नु , चित्त बुझेन भने छिमेकमा अर्को कोही पक्कै हुनुहोला अनुभव बताउन भन्नु , विगत हैन वर्तमान अनुभव नै सोध्नु, त्यस पछि त्यतिको जीवन स्तर भएको जनसङ्ख्या कति छ खोज्नु, सकिन्छ भने सबैको अनुभव लिनु , कति वर्गमा विभाजित छ समाज त्यो पनि खोज्नु ?

हामीलाई निजी स्कूल पठाउन हाम्रा अभिभावकहरुले कति आफ्ना चाहनाहरुको तिलाञ्जली दिनु भएको छ , कति छाक काट्नु भएको छ , त्यति गर्दा पनि कतिले स्कूल पठाउन सम्म सक्नुभएको छैन । यस्ता सबै कुरा अध्यन गर्नु अनि फेरि तपाईं हाम्रो सर्टिफिकेटको सार्थकता हुन्छ। तपाईंको लब्धाङ पत्रमा भएको ९०५ अङ्कले तपाईंलाई राम्रो नोकरीको नाममा गुलाम बनाउँछ भने तपाईंको अभिभावकहरुको र तपाईंको समुदायको सपनामा तपाईंले केही गर्न सक्नु भएन ? 

तपाईंको त्यो पढाईले खासै काम गरेन नै भन्छु। त्यो पनि व्यक्तिगत व्यवस्थापन मात्र हो। कुनै एक व्यक्ति सफल वा असफल हुनुले समग्र समुदायको चित्रण गर्न सक्दैन, र एकजना सफल व्यक्तिले आफ्नो उदाहरण दिँदै समुदायको स्तर बताउनु भनेको भ्रम पार्नु हो, समुदाय प्रतिको गद्दारी हो।

आफ्नो सफलता लाई समुदायको सफलता नसोचौं। तपाईं जति समुदायको प्रतिनिधित्व गर्नहुन्छ, त्यतिनै प्रतिनिधित्व गर्ने अधिकार बाटोमा कपडा सिलाउने दमाईलाई पनि छ बाटोमा जुत्ता सिलाउने सार्कीलाई पनि छ, आरनमा पसिना बगाउने कामीलाई पनि ….!