कोरोना संक्रमितलाई आइसोलेसनमा लैजान खोज्दा स्थानीयको अवरोध

रौतहट, रौतहटमा दुईजना कोरोना संक्रमितलाई अस्पताल लैजान खोज्दा क्वारेन्टाइनमा रहेकाहरूले अवरोध गरेपछि तनाव उत्पन्न भएको छ । स्थिति नियन्त्रणमा लिन १३ राउन्ड हवाई फायर गरिएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बाह्रखरीलाई जानकारी दिए ।

उनका अनुसार रौतहटको इशनाथ गाउँपालिका जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका दुई व्यक्तिमा आज बिहान कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमितलाई आइसोलेसनमा लैजान पुगेको प्रहरी र स्वास्थ्यकर्मीमाथि क्वारेन्टाइनमा बसेकाहरूले आक्रमण गरेपछि तनाव उत्पन्न भएको डीआईजी सिहंले बताए । उनीहरूले संक्रमितलाई लैजान नदिने बताएका थिए ।

सो क्वारेन्टाइनमा २ सय जनालाई राखिएको छ । उनीहरू सबै भारतबाट फर्र्किका हुन् । अहिले अवस्था सामान्य भएको डीआईजी सिंहले बताए ।