अझै तीन दिन वर्षाको सम्भावना, सर्तक रहन आग्रह
काठमाडौं, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अझै तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभावले बदलीसँगै मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौं उपत्यकामा बिहानै वर्षा भएको छ ।
ती मौसमी प्रणाली अझै विकसित हुने क्रममै रहेकाले आगामी तीन दिन देशभर वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताइन् । दिउँसो देशभर सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार देशको पूर्वी र पश्चिमी भूभागलगायत मध्य पहाडी भूभागमा सामान्य बदली रही देशको केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ । आइतबार देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रही पहाडी भूभागका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको औंल्याएको छ । वर्षाका कारण खोनानालामा पानीको सतह बढ्ने र बाढी पहिरो जान सक्ने भएकाले सतर्क रहन पनि मौसमविद्ले आग्रह गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव चार डिग्री र अधिकतम तापक्रम २८ दशमलव चार डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम छ दशमलव पाँच डिग्री र सबैभन्दा बढी भैरहवा अधिकतम तापक्रम ५३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।