भेरी नदीमा बेपत्ता अर्का युवाको शव भेटियो

जाजरकोट, पश्चिम रुकुमको चौरहजारी नगरपालिका सोतीमा शनिबार भएको घटनापछि बेपत्ता अर्का युवाको शव फेला परेको हो । घटनाको छैटौं दिन सन्दिप बिकको शव भेरी नदीको छेडानजिकै किनारामा भेटिएको हो । पश्चिम रुकुमको सोती काण्डमा भेरी नदीमा हराइरहेका युवाहरुको खोजी गरिँदै ।

हिजो अर्का बेपत्ताको शव भेटिएको थियो । यससँगै यो काण्डमा मारिनेको संख्या ५ पुगेको छ । गोविन्द शाही अझै बेपत्ता छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।

यसअघि नवराज बिक, टिकाराम सुनार, लोकेन्द्र सुना र गणेश बुढाको शव भेटिएको थियो । जाजरकोट भेरी नगरपालिका राना गाउँका नवराज बिक आफ्ना साथीसहित मल्ल थरकी प्रेमिका लिन जाँदा गाउँलेले आक्रमण गरेका थिए । घटनाका घाइतेले नवराजलगायतलाई कुटपिट गरि हत्या गरेर भेरीमा बगाइएको बताएका छन् ।