आजै ११४ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ८८६

काठमाडौं, आज थप ११४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार थप ११४ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

यो हालसम्मकै एकदिनमा देखिएको उच्च संख्या हो । उनले हालसम्म कोरोना संक्रमितको संख्या ८८६ पुगेको बताए । जसमा ६९६ पुरुष र ९० जना महिला रहेको मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस पीसीआर विधिबाट ३ हजार ५ सय ८० नमुना परीक्षण गरिएको उनले जानकारी दिए ।

मन्त्रालयका अनुसार आज देशैभरका क्वारेन्टाइनमा ७० हजार ३०५ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा २८ जना डिस्चार्ज भएका छन् । जसमा नारायणी अस्पतालबाट २१ जना र कोशी अस्पतालबाट ३ र सुशिल कोइराला प्रखर अस्पतालबाट ४ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना निको हुने संख्या १८३ जना पुगेको छ ।