सोती हत्याकाण्ड : भेरीमा बेपत्ता युवाको गोताखोरबाट खोजी सुरु

जाजरकाेट, पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोती घटनामा बेपत्ताहरुको खोजीका लागि गोताखोरको टोली घटनास्थल पुगेको छ। बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी बल अस्थायी बेस क्याम्प शमशेरगञ्जबाट प्रहरी सहायक निरीक्षक रमेश थापाको कमाण्डमा चार जनाको गोताखोर टोली घटनास्थल पुगेको हो।

‘बेपत्ताको खोजीका लागि नदीमा पस्ने तयारी भइरहेको छ,’ गोताखोर टोलीका संयोजक थापाले भने, ‘केही समयमै कालेगाउँबाट खोजी सुरु हुन्छ ।’ सोती घटनामा जाजरकोटको भेरी नगरपालिका वडा नं. ११ का १८ वर्षीय लोकेन्द्र सुनार, १८ वर्षकै सञ्जु (सन्दीप) विक र १७ वर्षीय गोविन्द शाही सम्पर्कविहीन छन्। उनीहरुको खोजीका लागि गोताखोर टोली घटनास्थल पुगेको हो।

अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर शनिबार बेलुका ८ बजेतिर भएको घटनामा जाजरकोटको भेरी नगरपालिका–४ नवराज विक, गणेश बुढामगर र चौरहजारी नगरपालिका–१ टीकाराम सुनारको शव भेरी नदीमा मृत भेटिएको थियो ।

२० जनाविरुद्ध किटानी जाहेरी

शनिबार पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाविरुद्ध पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।

वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा, आमा, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए ।

दलित अधिकारकर्मी र पीडित परिवारले घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्नेलगायत माग राखी जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।