सामाजिक दुरी कायम गरेर भालुवाङमा मनाइयो १८ औं इच्छुक स्मृति दिवस
दाङ , पत्रकार एवं प्रगतिशिल साहित्यकार कृष्णसेन इच्छुकको आज साेमबार १८ औं स्मृति दिवस मनाइएकाे छ । कोरोना संकट र लकडाउनका बाबजुट सामाजिक दुरी कायम गरेर इच्छुकस्मृति पार्क निर्माण समिति भालुवाङकाे आयाेजनामा राप्ती उद्योग बाणिज्य संघ भालुवाङकाे सभाहलमा इच्छुककाे स्मृति दिवस कार्यक्रम सम्पन्न भएकाे हाे ।
समितिका अध्यक्ष भिमार्जुन सुवेदीकाे अध्यक्षता एवम् राप्ती गाउँपालिका वार्ड नम्बर २ का वडाध्यक्ष जगतबहादुर थापाकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा राप्ती उद्योग वाणिज्य संघ भालुवाङका बरिष्ठ उपाध्यक्ष टाेपबहादुर कार्की, बरिष्ठ साहित्यकार शेषमणि शर्मा, नागरिक समाज देउखुरीका संयाेजक दामाेदर भण्डारी, राजनितिककर्मी भिमप्रकाश पुन, स्थानीय महिला नेतृ रत्ना तिवारी र पत्रकार महेश रिजाल लगायतका वक्ताले कृष्णसेन इच्छुक एक महान् सहिद भएकाे र उहाँका सपना पूरा नभएकाेले नेपाली समाज प्रगतिपथ तर्फ डटिरहनु पर्ने बताएका थिए ।
कार्यक्रममा सेनका समकालीन साहित्यक व्यक्तित्वहरू शेषमणि शर्मा, दामाेदर भण्डारी र युवा कवि बिक्रम पाण्डेले इच्छुककाे सम्झनामा कविता बाचन गरेका थिए । साेही कार्यक्रममा इच्छुकका बालसखा माेहम्मद अब्दुल राैउफले काेराेना महामारीका कारण भाैतिक रूपमा उपस्थिति हुन नसकेपनि कपिलवस्तुकाे बिस्नपुरकाे घरबाट फाेन मार्फत कविता बाचन गरेर सुनाएका थिए । सहिद इच्छुककाे फाेटाेमा पुष्पगुच्छा सहित अबिर लगाएर सम्मान प्रकट गर्नुका साथै एक मिनेट माैन धारण समेत गरिएकाे थियाे । कार्यक्रमकाे सञ्चालन समितिका सचिव नारायणप्रसाद शर्माले गरेका थिए ।
इच्छुकको हत्या भएको आज ठीक १८ वर्ष पुगेको छ । इच्छुकलाई २०५९ साल जेठ ६ गते गिरफ्तार गरी जेठ १३ गते महेन्द्र पुलिस क्लवमा क्रूरतापूर्वक यातना दिएर हत्या गरिएको थियो । यसैको सम्झनामा हरेक वर्षको जेठ १३ गते इच्छुकस्मृति दिवस मनाउने गरिन्छ । पत्रकार सेन जनदिशा दैनिकको सम्पादक, लेखक तथा साहित्यकार थिए । सेनका ‘शोकाञ्जली’ शोककाव्य, ’इतिहासको यस घडीमा’ कवितासंग्रह लगायतका साहित्यिक कृति प्रकाशित छन् । उनका विभिन्न समयमा विभिन्न पत्रपत्रिकामा दर्जनौं फुटकर कविताहरु प्रकाशित छन् ।