प्रबिधिको कमाल नेपालबाट अमेरिका न्वारन

देउखुरी, सोमवार बिहान नेपालको ८ बज्दै थियो भने अमेरिकामा बेलुकाको ७ बज्दै थियो । कोरोना भाइरसको लकडाउनले गढवा बजार शुन्यप्रायः थियो । गढवाका स्थानेश्वर पौडेलको घरमा शुुभकार्य चल्दै थियो तर पण्डित बाहेक अन्य इष्टमित्र र आफन्त कसैलाई पनि बोलाइएको थिएन ।

अनलाइन प्रबिधिबाट अमेरिकामा जन्मिएकी नातिनीको न्वारान कर्म गर्ने र नाम राख्ने योजनाका साथ घरमा पण्डित बोलाइयो । पण्डित बिरेन्द्र पन्थीले बैद्धिक बिधिबाट पाठ गर्न सुरु गरे । उता ल्यापटप र मोबाइलको प्रबिधिबाट तस्विर हेर्दै अमेरिकामा रहेका गढवाका शुरेश पौडेल र प्रमिता पौडेलले भिडियो कलकै माध्यमबाट छोरीको नाम राख्ने न्वारान कर्म सुरु गरे ।

गढवाका एक सामाजिक ब्यक्तित्व एवं गढवा गाबिसका पूर्व उपाध्यक्ष स्थानेश्वर पौडेलले अमेरिकामा नातिनी जन्मेपछि प्रबिधिको प्रयोग गर्दै नेपालबाट न्वारान गर्ने चाँजोपाँजो मिलाएका हुन् । कोरोना भाइरसको लकडाउन र त्रासका कारण अमेरिकामा ११ दिनअघि जन्मिएकी नातिनीको न्वारान भिडियो कलकै माध्यमबाट घरमा पण्डित बोलाएर देउखुरीको गढवा स्थित आफ्नै निवासबाट स्थानेश्वर पौडेल र सिता पौडेलले सम्पन्न गरे ।

अमेरिकामा गएका छोरा बुहारीलाई बच्चा जन्मेपछि कोरोनाका कारण बिश्वस्तरमै ठूलो महामारी फैलिएको अमेरिकामा हिन्दु संस्कार बमोजिम न्वारान गर्न समस्या भएपछि पौडेलले भिडिओ कलकै माध्यमबाट नातिनीको न्वारानको चाँजोपाँजो नेपालमै मिलाएको बताए । नातिनी जन्मेको ११ औं दिनसम्म अमेरिकामा रहेका छोरा बुहारीसंग सल्लाह गरी भिडियो कलको माध्यमबाट नेपालबाट न्वारान गर्ने र नाम राख्ने निधो गरेको पौडेल दम्पतिले बताए ।

प्रबिधिले अहिले बिश्व भुमण्डलीकरणको रुप लिदै संसारलाई निकै नजिक बनाएको छ । कोभिड–१९ को महामारीको बेला अमेरिकामा कहाँ पण्डित खोज्ने र न्वारान कर्म कसरी गर्ने भन्ने अन्यौल भएको बेला आफूले छोरासंग सल्लाह गरेर यस्तो जुक्ति अपनाएको पौडेलले बताए । लकडाउनको समयमा केहिदिन अघि गढवाकै कपिलदेव खनालले पनि अमेरिकामा नाति जन्मिएपछि यस्तै प्रबिधिबाट न्वारान कर्म सम्पन्न गरेका थिए । गाउँ ठाउँमा पनि प्रबिधि भित्रिएपछि यति बेला सबैलाई प्रबिधिको प्रयोग अनुकरणीय बनेको छ ।