पत्रकार कृष्णसेन इच्छुकको १८औं स्मृति दिवस, भएन औपचारिक कार्यक्रम
दाङ, पत्रकार एवं प्रगतिशिल साहित्यकार कृष्णसेन इच्छुकको १८ औं स्मृति दिवस । उनको हत्या भएको आज ठीक १८ वर्ष पुगेको छ । इच्छुकलाई २०५९ साल जेठ ६ गते गिरफतार गरी जेठ १३ गते महेन्द्र पुलिस क्लवमा क्रूरतापूर्वक यातना दिएर हत्या गरिएको थियो ।
यसैको सम्झनामा हरेक वर्षको जेठ १३ गते नेपाल पत्रकार महासंघ दाङ, प्रेस संगठन नेपाल दाङ र जनसांस्कृतिक महासंघ दाङले संयुक्तरुपमा श्रदाञ्जली सभा तथा पुरस्कार बितरण कार्यक्रम गर्दै आएको भएपनि यस वर्ष भने कुनै कार्यक्रम हुन सकेन ।
अहिले कोरोना महामारीको बीचमा देश लकडाउनमा रहेको भन्दै यस वर्ष आज कुनै कार्यक्रम आयाेजना नगरिएकाे ती संगठनले जनाएका छन् । कोरोना संकट र लकडाउनका कारण यो वर्ष १८ औं स्मृति दिवसको अवसरमा कुनै औपचारिक कार्यक्रम गर्न असमर्थ रहेकाे नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन र सचिव भुपेन्द्र ओली, त्यसैगरी प्रेस संगठन नेपाल दाङका संयोजक प्रकाश चौधरी र सहसंयोजक जेएन सागर, जनसांस्कृतिक महासंघ, दाङ संयोजक टीका बुढा रञ्जितद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
साथै विज्ञप्तिमा पत्रकारिताको क्षेत्रमा इच्छुकले देखाएको बाटो कहिल्यै नबिर्सने र उहाँको योगदानलाई चिरस्थायी बनाउन अनवरत लागिरहने प्रतिवद्धता पनि व्यक्त गरिएको छ। कोरोना संकटको समाप्तीपछि एक औपचारिक कार्यक्रमको आयोजना गरेर पुरस्कार बितरणको कार्यक्रम गरिने पनि जनाइएको छ ।
पत्रकार सेन जनदिशा दैनिकको सम्पादक, लेखक तथा साहित्यकार थिए । सेनका ‘शोकाञ्जली’ शोककाव्य, ’इतिहासको यस घडीमा’ कवितासंग्रह लगायतका साहित्यिक कृति प्रकाशित छन् । उनका विभिन्न समयमा विभिन्न पत्रपत्रिकामा दर्जनौं फुटकर कविताहरु प्रकाशित छन् ।