मकैमा अमेरिकन फौजीकिराको प्रकोप, किसान चिन्तित

देउखुरी, दाङमा लगाईएको मकै खेतीमा अमेरीकन फौजीकिराले आक्रमण गर्दा किसानहरु चिन्तित भएका छन् । दाङको लमही, घोराही, तुलसीपुर लगायतका ठाँउमा किसानले रोपेको मकैमा उक्त किराको प्रकोप देखिएको छ ।

यसपालि समयमै पानी परेर मकै रोपेका किसानहरु यसवर्ष उत्पादन राम्रो हुने आशामा थिए ।  तर मकैको बोटमा अमेरिकन फौजीकिराको प्रकोप बढेपछि किसानहरु चिन्तित भएका हुन् ।

फौजी किराले रोपिएको मकै सखाप पारेको शान्तिनगर गाँउपालिका वडा नम्वर २ अमुवा दाङका कृषक मुक्तिबहादुर खड्काले बताए ।लकडाउनका कारण अन्य आम्दानीको श्रोत नभएको अवस्थामा समयमै मकै उत्पादन हुने भन्ने लागेको थियो तर अमेरिकन फौजी किराले सखाप पार्दै गएको छ, उनले भने । करिब १ बिगाह क्षेत्रफलमा मकै खेती गरेकी रेउती वलीको मकै पनि सखाप भएको छ ।

बिउको लागि मात्रै ५ हजार खर्च गरेकी वलीले मल र मेहनतको कुरा छोडौ बीउको मुल्य पनि नउठ्ने चिन्ता भएको बताइन् । लकडाउनका कारण किटनाशक औषधि लिन बजार जानपनि समस्या रहेको उनले बताइन् ।

एउटै टोलको झण्डै ६ बिगाह क्षेत्रफलमा अमेरिकन फौजीकिराले मकैको बोट नष्ट भएको शान्तिनगर-४ गबदवाका चेतबहादुर डाँगीले जानकारी दिए । अब बचेको बोटलाई नष्ट गरी पुनः मकै रोप्ने तयारी गरिएको डाँगीले बताए ।

फौजिकिराको प्रकोप देखिएपछि शान्तिनगर गाँउपालिकाले किसानहरुलाई किटनाशक विषादी बाडेको छ । तर वडाबाट दिएको किटनाशक विषादीले आफुहलाई नपुग्ने किसानहरुले बताएका छन् । “आधा मकै त सकियो, अब आधा छ, त्यो पनि विषादी हाल्न पाए हुन्छ की भन्ने आशा छ” डाँगीले भने । तर गाँउपालिकाले दिएकोे एक डिब्बा विषादिले एक जना किसानलाई पनि नपुग्ने डाँगीको भनाई छ ।

करिब १० दिन पहिले वडा नम्बर ७ को देबिपुरमा पहिलो पटक फौजिकिराको प्रकोप देखिएको भएता पनि अहिले ७ वटै वडामा देखिएको गाउँपालिकाका कृषि शाखा प्रमुख यमकान्त पाण्डेले बताए ।

गाउँपालिकाले आकस्मिक बाली कोष स्थापना गरेको र त्यही कोषबाट प्रत्येक वडामा ३० बिगाहलाई पुग्ने विषादी र स्प्रे दिएको समेत प्रमुख पाण्डेले जानकारी दिए । यो किराले १ सय ३२ वटा बालीलाई नष्ट गर्ने भएता पनि सबैभन्दा बढी मकैलाई गर्ने भएकाले यसलाई नियन्त्रण गर्न सुरक्षित विषादीको प्रयोगबाट गर्ने सकिने समेत पाण्डेले बताए ।