सहकर्मीको राहत संकटमा रहेका घरपरिवारलाई
कोहलपुर, सहकर्मी समाज बाँकेले सोमबार कोहलपुर नगरपालिका वडा नं. ११ मा बस्दै आएका गन्धर्व समुदायका ३३ घरपरिवारहरुका लागि ५० हजार बराबरको खाद्यान्न सामाग्री वितरण गरेको छ ।
सिमान्तकृत तथा अति जोखिममा रहेका गन्धर्व समुदायका ३३ घरपरिवारलाई कोहलपुर नगरपालिका वडा नं. ११ का वडाध्यक्ष कर्ण बहादुर थापा र सहकर्मी समाज बाँकेका निमित्ति कार्यकारी निर्देकश राजाराम गुप्ताले संयुक्त रुपमा राहत वितरण गरेका छन् । प्रति परिवार २५ केजी चामल, २ केजी दाल र १ लिटर तेल वितरण गरिएको छ ।
लकडाउनको असर सबैभन्दा पहिला यस्ता विपन्न समुदायका मानिसहरुमा परेका हुनाले वडा कार्यालयले पनि पहिलो चरणमा गन्धर्व समुदायका सबै घरपरिवारहरुलाई खाद्य सामाग्री वितरण गरेको वडाध्यक्ष कर्ण बहादुर थापाले बताए । उनले भने,–‘हाललाई वडामा भौतिक निर्माणका सम्पूर्ण कामहरुलाई स्थागित गरेका छौं । सबैभन्दा पहिला वडामा बसोबास गर्ने र जीवनयापन गर्न निकै कठिन भएका समुदायलाई विभिन्न राहतका प्याकेजहरु वडा कार्यालय तथा दातृ निकायहरुको सहयोगमा वितरण गर्दै आएका छौं ।’
पछिल्लो समय कोरोनोका डरले आफूहरुको पेशा नै संकटमा परको र साँझ विहानको जोहो गर्न निकै अप्ठ्यारो परेको विरवहादुर गन्धर्वले बताए । उनले भने, हामीहरु गीत गाएर, सारंगी रेटेर जीवन गुजारी रहेका छौं तर अहिले त्यो अवस्था छैन । लकडाउन र कोरोना भाइरस संक्रमणको डरले स्थानीय निकाय र प्रशासनले पनि बाहिर नजान भनेको छ । यसले गर्दा साँझ विहान खाने गाँस जुटाउन निकै अप्ठ्यारो परेको छ ।’
कोरोनाको महामारीले देशैभरि लकडाउन भएको अवस्थामा अति सिमान्तकृत, लोपोन्मुख तथा जोखिममा रहेका घरपरिवारलाई राहत वितरण गरिएको समाजका निमित्त कार्यकारी निर्देशक राजाराम गुप्ताले बताए । उनले भने,–‘पहिला बाँचौ भन्ने कुरालाई आत्मसात गर्दै अति जोखिममा परेका समुदायलाई राहतकोे कार्यक्रम ल्याएका छौं । लकडाउनका कारण गीत गाएर आफ्नो जीवनयापन गर्दै आएका गन्धर्व जातीको पेशा नै संकटमा परेको हुनाले त्यस्ता समुदायका घरपरिवारहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरेका छौं । लकडाउन अझै लम्बिने अवस्था आए र दातृ निकायहरुले सहयोग गर्ने चाँसो देखाए राहतको कार्यक्रमहरुलाई फेरी जोड्नेछौं ।’ उनले स्थानीय तहको मापदण्ड र सम्बन्धित समुदायको अवस्था अनुसार आफूहरुले सहयोग गरेको बताए ।
हालसम्म सहकर्मी समाज बाँकेले कोहलपुर नं.१४ मा रहेका चिडिमार समुदायका ३२ घर, डुडुवा गाउँपालिका–६ हिरमिनियाका १०० घर, जानकी गाउँपालिका–३ मा रहेका कुसबधिया समुदायका ४७ र नेपालगजं उपमहानगरपालिका–२० मा रहेका कुसबधिया समुदायका २० तथा बर्दियामा रहेका मंगता र गन्धर्व जातीका ८४ घर परिवारलाई पहिलो चरणमा खाद्यान्न सामाग्री वितरण गरिएको समाजका निमित्त कार्यकारी निर्देशक गुप्ताले बताए ।