थप ७२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौं, सोमबार एकैपटक थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार थपिएका संक्रमितहरुमा पर्साका २६, बाराका २३, काठमाडौंको टोखा र बुढानिलकण्ठका ३, धनुषाका ३, कपिलवस्तुका ३ र बाराका २ जना छन् । उनीहरु सबै पुरुष हुन्।

उनीहरुमध्ये बाराका २१ जनाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा परीक्षण गरिएको थियो भने बाँकीको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको हो।

यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणबाट २ जनामा कोरोना पोजिटिभ देखिएको छ। दुबै जना नै सप्तरीका पुरुष हुन्।

त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणबाट ५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बाँकेका ४ र बर्दियाका एक पुरुष रहेका छन् ।

दैलेखमा ७ जनामा संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणबाट ४ पुरुष र एक महिलामा संक्रमण देखिएको छ भने प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणबाट २ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ । आइतबार १९ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ सय ३ पुगेको थियो । शनिबार ६८, शुक्रबार ५९ जनामा संक्रमण पुष्टि भएको थियो ।