पौडी खेल्ने क्रममा युवकको पोखरीमा डुबेर मृत्यु

दाङ,  दाङमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियामा रहेको कृतिम पोखरीमा पौडी खेल्न पुगेका सोही ठाउँ बस्ने वर्ष २२ का विजय केसीको मृत्यु भएको डिएसपी सुमित खड्काले जानकारी दिए ।

प्रारम्भीक अनुसन्धानबाट आइतबार दिउँसो करिब १ बजेको समयमा पौडी खेल्न पोखरीमा पुगेको र उनको सोही पोखरीमा डुबेर मृत्यु भएको डिएसपी खड्काले बताए । उनले घटनाको बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

स्थानीयका अनुसार उनी सोही वडामा बस्ने गरेको भएपनि स्थायी घर रोल्पा भएको जनाइएको छ । थप विवरण आउन बाँकी रहेको छ ।
आज भन्दा दुई वर्ष पहिले पनि सोही पोखरीमा पौडी खेल्ने क्रममा घोराही १५ का १८ वर्षका विवेक डिसीको डुबेर मृत्यु भएको थियो । डिसी २०७५साल मंसिर ९ गते आइतबार डुबेकोमा ४ दिनपछि बुधबार १२ गते शब फेला परेको थियो ।

उनको खोजिकार्यका लागि चितवनबाट तालिम प्राप्त प्रहरीको गोताखोर समते आएको थियो । घोराही उपमहानगरले बनाएको उक्त कृतिम पोखरीमा डिसीको खोजीका लागि ड्याम समेत फोड्नु परेको थियो ।