कार चोरी गरेको आरोपमा तुलसीपुरका सार्की धनगढीमा पक्राउ

दाङ,, प्रहरीले धनगढीबाट चोरी गरेको आरोपमा दुई कारसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ न्यूरोड टोल घर भई हाल धनगढी उपमहानगरपालिका– १ वसन्तटोल बस्ने १६ वर्षीय नवीन सार्की रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

ती युवकले जेठ ३ गते धनगढि उपमहानगरपालिका–४ उतरबेहडी बस्ने राजेन्द्रबहादुर मल्लले आफ्नै घर अगाडि सडकमा पार्किङ गरि राखेको बा ८ च २१०० नंको कार र ७ गते सोही ठाउँबाट रातिको समयमा रवीन्द्रदेव भट्टको डेरा कोठा भएको घरआँगनमा राखेको बा १४ च ४७८१ नंको कार चोरी गरेको प्रहरीले बताएके छ ।

युवकको साथबाट प्रहरीले नगद रु १२ हजार ४७०, विभिन्न कागजात र दुई थान मोबाइलसमेत बरामद गरेको छ । उनले अन्य स्थानमा समेत चोरी गरेको हुनसक्ने भएकाले सम्बन्धित व्यक्तिले यस कार्यालयमा सम्पर्क राख्न हुनसमेत अनुरोध गरिएको जनाईएको छ ।घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।