सोती हत्याकाण्ड : वडाध्यक्षसहित बेहुलीका आमाबुवा पक्राउ
जाजरकाेट, पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा युवकको हत्यामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन्। बेहुली लिन गएका जाजरकोट भेरी नगरपालिका ४ राना गाउँका २१ वर्षीय नवराज विकको हत्याको आरोपमा नवराजकी प्रेमिकाका आमाबुवासहित ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। नवराजको हत्या शनिबार राति भएकाे थियाे। उनकाे शव नदीमा भेटिएको छ।
नवराज आफ्ना साथीसहित सोतीकी १७ वर्षीया सुस्मा मल्ललार्ई बेहुलीका रुपमा लिन शनिबार उनकाे घरमा गएका थिए। मल्लका बाबुआमासहित गाउँले मिलेर विककाे हत्या गरेकाे आराेप छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख किशोर श्रेष्ठका अनुसार पक्राउ पर्नेमा केटीका बुबा वीरबहादुर मल्ल र आमा प्रकाशी मल्ल र सोही वडाका वडाध्यक्ष डम्बरबहादुर मल्ललगायत छन्। उनीहरुलाई छानबिनका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सुष्मालाई लिन मृतक विकसँगै गएका भेरी नगरपालिका ४ का गणेश विक, वडा नम्बर ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, सन्दीप विक र चौरजहारी नगरपालिकाका वडा नम्बर १ का टीकाराम सुनार बेपत्ता छन्।
घटनापछि प्रहरी सम्पर्कमा आएका १२ जनामध्ये भेरी नगरपालिका वडा नम्वर ४ का सुदीप खड्का गम्भीर घाइते भएको प्रहरीको भनाइ छ। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ।