यसकारण नेता किमले किन गरे गुप्तचर प्रमुख र सुरक्षा गार्ड परिवर्तन

उत्तर कोरियाली नेता किम जोङ उन पुनः २३ दिनपछि सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । करिब तीन सातापछि उनी उत्तर कोरियाली सैनिकको एक बैठकमा उपस्थित भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

‘बैठकले देशको परमाणु शक्ति सुदृढिकरण गर्ने तथा रणनीतिक सैन्य अभियानका लागि उच्च उतर्कतामा राख्ने निर्णय गरेको छ,’ उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसिएनएले भनेको छ ।

नेता किमले सैनिकहरुलाई सम्बोधन गर्दै गरेको तस्बिर समेत जारी गरेको छ । उनी गत १ मेमा एउटा मल फ्याक्ट्रीको उद्घाटनमा देखिएपछि सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन् ।

त्यसअघि ११ अप्रिलदेखि बेपत्ता भएका उनी १ मेमा देखा परेका थिए । उनी पछिल्लो समयमा मुटुको शल्यक्रियापछि आराम गरिरहेको र उनको स्वास्थ्य पहिलेजस्तो राम्रो नरहेको रिपोर्टहरु आइरहेका छन् ।

गत साता उनले अचानक आफ्ना सुरक्षा गार्ड र उत्तर कोरियाली गुप्तचर निकायका प्रमुख परिवर्तन गरेको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । तर सुरक्षा गार्ड र गुप्तचर प्रमुख परिवर्तनबारे अहिलेसम्म कुनै कारण बाहिर आएको छैन ।