राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा चाप बढ्याे, एकै दिनमा ६९ जना भर्ना

भालुवाङ,  भारत र जिल्ला बाहिरबाट आउने व्यक्तिहरूले दाङकाे राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा भर्ना हुनेको संख्या दिनानुदिन बढ्दै जान थालेको छ । शुक्रबार भारत र कपिलवस्तुबाट आएका ६९ जना मजदुरहरूलाई क्वारेन्टाइनमा भर्ना गरिएको छ ।

कपिलवस्तुबाट आएका राप्ती गाउँपालिका वडा नम्बर ५ का १४ महिला र १५ पुरूष गरी २९ जनालाई बाल कल्याण आधारभूत विद्यालय पहरूवाको क्वारेन्टाइनमा भर्ना गरिएको छ । त्यसै गरि भारतबाट आएका वडा नम्बर ४ का २० जनालाई मावि माैरीघाटको क्वारेन्टाइनमा भर्ना गरिएको छ ।

त्यस्तै भारतबाट आएका वडा नम्बर १, ३ र ४ का १ महिला र १३ पुरूष गरी १४ जनालाई नवप्रतिभा आधारभुत विद्यालय पाखापानीको क्वारेन्टाइनमा, भारतबाट आएका वडा नम्बर १ का २ पुरूष र २ महिला गरी ४ जनालाई नेपाल राष्ट्रिय मावि भालुवाङको क्वारेन्टाइनमा र भारतबाट आएका वडा नम्बर ५ र ७ का २ पुरूषलाई सर्वोदय मावि सिसहनियाँको क्वारेन्टाइनमा भर्ना गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।

उनीहरूलाई सिसहनियाँ र लालमटिया स्वास्थ्य चाैकीमा स्वास्थ्य चेकजाँच गरी क्वारेन्टाइनमा भर्ना गरिएको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् । यसैबीच बिहीबार मात्रै भारतका विभिन्न ठाउँबाट आएका ४४ जनालाई राप्ती गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा भर्ना गरिएको छ ।

जसमा ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा वडा नम्बर २ का २ जना पुरूष, सर्वोदय मावि सिसहनियाँमा वडा नम्बर ५ र ७ का २ पुरूष,नवज्योती आधारभुत विद्यालय सिरिचाैर मसुरीयामा वडा नम्बर ३ का १ जना पुरूष र आदर्श नमुना मावि लालमटियामा वडा नम्बर ९ का ३९ जना पुरूषलाई भर्ना गरिएको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् ।