बाँकेमा पहिलोपल्ट प्रहरी जवानलाई कोरोना
नेपालगञ्ज, बाँकेमा पहिलोपल्ट प्रहरीलाई पनि कोरोना संक्रमण देखिएको छ। बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले नरैनापुर गाउँपालिकाको कालाफाँटा चौकीमा कार्यरत प्रहरी जवानलाई कोरोना पुष्टि भएको जानकारी दिए।
शनिबार नरैनापुरमा २७ जना कोरोना संक्रमित थपिँदा प्रहरी जवान पनि परेका हुन्। संक्रमित प्रहरी जवानलाई नेपालगञ्ज ल्याउने तयारी भएको छ।
प्रहरी प्रवक्ता सिंहले प्रहरी जवानलाई कोरोना देखिने बित्तिकै चौकी सिल गरेको जानकारी दिए। ‘कोरोना देखिएकालाई नेपालगञ्ज ल्याउदै छौं, प्रवक्ता सिंहले भने, चौकी सिल गरेर अरुलाई क्वारेन्टाइनमा राख्छौं। उनीहरुको भोलि नै पीसीआर जाँच गर्छौँ।’
बाँकेमा प्रहरीलाई पहिलोपल्ट कोरोना देखिएको हो।
दुई दिनअघि मात्रै जिल्लाका ६० जना प्रहरीको स्वाब लिइएको छ। त्यसको रिजल्ट आइसकेको छैन। शनिबार नरैनापुरमा कोरोना देखिएका प्रहरीसहित २७ जनालाई नेपालगञ्ज ल्याएर खजुरास्थित कृषि अनुसन्धान केन्द्रमा राख्ने तयारी भएको छ।
त्यहाँ ४० बेडको आइसोलेसन सेन्टर तयार पारिएको छ। नरैनापुरबाट हिजो ल्याइएको १३ जनालाई पनि त्यही लैजाने तयारी भएको छ।
राति ल्याएर उनीहरुलाई डेन्टल लायन्स आइसोलेसन सेन्टरमा राखिएको थियो। त्यहाँ पहिलेदेखि नै २२ जना बसिरहेका छन्। बाँकेमा स्वास्थ्यकर्मीमा पनि कोरोना देखिसकेको छ।