चीनले विकास गरेको खोप कोरोना रोक्न सफल भएको दाबी
एजेन्सी, चीनले बनाएको खोप कोरोना भाइरसको संक्रमण रोक्न सफल देखिएको अनुसन्धानकर्ताले दाबी गरेका छन्। द ल्यानसेट जर्नलमा शुक्रबार प्रकाशित पहिलो चरणको अनुसन्धान प्रतिवेदनका अनुसार यो खोपले २ हप्ताभित्रै मानिसमा भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता वृद्धि गरेको देखाएको हो।
चीनका विभिन्न प्रयोगशालाका अनुसन्धानकर्ता मिलेर पहिलो चरणको परीक्षणअन्तर्गत १८ देखि ६० वर्षसम्मका १ सय ८ जनालाई यो खोप लगाएका थिए। जसको नतिजा अत्यन्तै प्रभावकारी आएको ल्यानसेटमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार खोपको एक डोज मात्रै दिइएका व्यक्तिको शरीरमा दुई हप्ताभित्रै टी सेल्स नाम गरेको रोग प्रतिरोधात्मक कोषिका बनेको पाइएको छ। खोप दिइएको २८ दिनमै मानिसमा प्रतिरोधात्मक क्षमताका लागि आवश्यक एन्टिबडी उच्च तहमा पुगेको पाइएकाे ल्यानसेटमा लेखिएकाे छ।
अमेरिकाको बोस्टनस्थित बेथ इजरायल डिकोनेस मेडिकल सेन्टरका डा. डान बारोउचले यो अति सकारात्मक नतिजा भएको तर अझै अनुसन्धानको खाँचो रहेको बताएका छन्। उनले भनेका छन्, ‘यो नतिजा प्रारम्भिक मात्रै हो। तर नतिजा अति सकारात्मक देखिएको छ।’
यसरी पहिलो नतिजाले नै यो खोप कोरोना भाइरसको संक्रमणबाट मानिसलाई जोगाउन सफल र सुरक्षितसमेत देखिएको दाबी अनुसन्धानकर्ताले गरेकाे द न्युयाेर्क टाइम्सले पनि लेखेकाे छ।
चीनको बेइजिङस्थित सिनोवाक बायोटेक कम्पनीले उत्पादन गरेकाे यो खोप एडी-५ नामक भाइरसबाट बनाइएको वैज्ञानिकले बताएका छन्। मानिसलाई लगाउनुअघि यो खोप डा. डान बारोउचसहितको टोलीले बाँदरमा परीक्षण गरेको थियो। यो खोप लगाएपछि बाँदरमा कोरोना भाइरस संक्रमण नभएको देखिएको थियो। अहिले कोरोना भाइरसविरुद्ध खोप विकास गर्न विभिन्न देशका वैज्ञानिकबीच होडबाजी नै चलिरहेको छ।