कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुग्यो

बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । शनिबार थप ३ जनामा कोरोना संक्रमण देखिएसंगै संक्रमितकाे संख्या ४ पुगेकाे हाे । 

बिहीबार भारतबाट आएमा १५ नेपालीमा आरडीटी पोजिटिभ देखिएकोमा प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा ३ जनाको रिपोर्ट पोजिटिभ देखिएको हो ।

‘आरडीटी गर्दा पोजिटिभ देखिएकामध्ये ३ जनाको पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको छ,’ प्रदेश अस्पताल सुर्खेतका निर्देशक डम्बर खड्काले भने, ‘पीसीआरमा पोजिटिभ देखिएका ३ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।’

उनकाअनुसार प्रदेश अस्पताल सुर्खेतमा पीसीआर परीक्षण गर्दा तीन जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नेपालगन्ज पठाइएकोमा त्यहाँ पनि शनिबार पोजेटिभ नै नतिजा आएको हो ।

डाक्टर खड्काका अनुसार संक्रमितमा सुर्खेत बराहताल गाउँपालिकाका २ जना र चौकुने गाउँपालिकाका १ जना रहेका छन् । उनीहरुलाई प्रदेश अस्पताल सुर्खेतको आइसोलेसन कक्षमा राखिएको छ ।  

बिहीबार भारतबाट फर्किएका १६ सय नागरिकमध्ये बबईमा ७ सय ४० जनाको आरडीटी गरिएको थियो । अहिलेसम्म चारै जनाको उपचार प्रदेश अस्पतालको उपचार भइरहेको छ ।