दाङको बेलझुण्डीमा कोरोना संक्रमितको संख्या १७ पुग्यो
कोरोना विशेष अस्पताल बेलझुण्डीबाट कोरोना संक्रमित १६ जनाको स्वाब, परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको छ । कोरोना हस्पिटलमा आएको सात दिन पुगेपछि स्वाब परीक्षणका लागि प्रतिष्ठानमा पठाइएको हो ।
कोरोना संक्रमित पुष्टि भएको एक हप्तापछि सुधार उन्मुख भए नभएको पत्ता लगाउन स्वाब परीक्षण गर्ने गरिन्छ । रिर्पोट नेगेटिभ आएमा त्यसको दुई दिनपछि पुनः चेक गर्दा नेगेटिभ आएमा डिस्चार्ज गरिन्छ भने पोजिटभ आएमा पुनः सातदिनपछि चेक गर्ने गरिन्छ ।
आज पठाएको रिपोर्ट भोली या पर्सीसम्म आउने अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले जानकारी दिनुभयो । ‘ नेपालगंजबाट पनि दुई ढाई सय स्वाब आएको छ रे ,’ डां शर्माले भने –‘ त्यसैले भोली पालो आयो भने भोली नै पनि आउन सक्छ । भोली सम्भव भएन भने पर्सीसम्म आउन सक्छ ।’
कोरोना विशेष अस्पतालमा दाङका ३ , कपिलवस्तुका ६ र बाँकेका ८ गरि १७ जना कोरोना संक्रमित रहेका छन् । बिहिबार कोरोना पोजेटिभ आएका घोराही ३ का एक युवकलाई पनि ल्याएपछि संक्रमितको संख्या १७ पुगेको हो । कोरोना संक्रमित ७ दिन पहिले आएका थिए ।