पैसा असुल्दै हिड्ने नक्कली डिएसपी स्कुटरसहित पक्राउ

काठमाडौं , ‘सरकारी जागिर लगाइदिन्छु’ भन्दै पैसा उसुल्दै हिड्ने तारकेश्वर नगरपालिका वडा नम्बर ३ बालाजुका राजकुमार चापागाईं पक्राउ परेका छन् । ४५ वर्षीय चापागाईंलाई प्रहरीले बा ९० प ९५५५ नम्बरको स्कुटरसहित बिहीबार पक्राउ गरेको हो ।

उनको साथबाट १ लाख २० हजार रुपैयाँ ,मोबाइल १ थान, सिमकार्ड ३ थान, विभिन्न व्यक्तिको पासपोर्ट बरामद गरिएको प्रहरीले जनाएको उनलाई सरकारी जागिर लगाइदिन्छु भन्दै एक व्यक्तिसँग १ लाख २० हजार रुपैयाँ लिदै गरेकोअवस्थामा पेप्सीकोलाबाट पक्राउ गरिएको प्रहरीले जानकारी गराएको छ ।

प्रहरीका अनुसार चापागाईंले स्वास्थ्य मन्त्रालयको विभिन्न पदमा जागिर लगाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग रकम असुलेको पाइएको छ । चापागाईले सशस्त्र प्रहरी नायव उपरीक्षक( डिएसपी) र खरिदार पदको नक्कली परिचय पत्र समेत बनाएर ठगी गरेको समेत भेटिएको छ । उनले रामबहादुर थापा नामको नक्कली डिएसपी परिचयपत्र बनाएका हुन् ।

चापागाईंले आफूल विभिन्न उच्चपदस्थ अधिकारी भएको भन्दै कारागार तथा जिल्ला प्रशासन कार्यालयमा फोन गरी कैदीहरुलाई रिहा गर्न आदेश दिएको, प्रहरीको उच्च अधिकृत हुँ भनी विभिन्न व्यक्तिलाई धम्क्याउने गरेको समेत खुलेको छ ।

चापागाईल खोटाङ ऐसेलुखर्क बाकाचौल घर भएकी महिलालाई जागिर लगाई दिन्छु भनी पटक पटक गरी २ लाख रुपैयाँ लिएको, आर्मी स्कुलमा बच्चा भर्ना गराई दिन्छु भनी प्रलोभन देखाउने, विभिन्न व्यक्तिसँग सवारी चालक अनुमति पत्र बनाइदिन्छु भन्दै पैसा असुलेको समेत भेटिएको छ ।