कोरोनाबाट आमा गुमाएका शिशु पनि डिस्चार्ज

काठमाडौं, कोरोना भाइरस संक्रमणका कारण आमा गुमाएका सिन्धुपाल्चोकका शिशु धुलिखेल अस्पतालबाट डिस्चार्ज भएका छन्। धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका उनी र परिवारका अन्य सदस्य सबैको पीसीआर रिपोर्ट नेगिटेभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएकाे छ।

अस्पतालबाट डिस्चार्ज भए पनि उनीहरू थप एक हप्तासम्म जिल्लाकाे क्वारेन्टाइनमा बस्नुपर्नेछ। त्यसपछि आरडीटी परीक्षण गरेर मात्रै घर पठाइनेछ।

केही दिनअघि जन्डिस देखिए पनि बालरोग विशेषज्ञको नियमित हेरचाहपछि उनी स्वस्थ भएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ। उनकी आमाको १ जेठमा कोरोना संक्रमणका कारण मृत्यु भएको थियो।