जेष्ठ नागरिकलाई बैंककाे लाइनमा बस्नुपर्ने बाध्यता हट्याे, यसरी बाँडियाे भत्ता

देउखुरी, दाङकाे लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता बाफतको रकम वडा कार्यालयबाटै बितरण शुरू गरेको छ ।  भत्ता बुझ्दा बैँकहरु अत्यधिक भिड हुने र जसले गर्दा थप कोरोना जोखिम हुने भएकाले आफ्ना वडाका बृद्द बृद्दा, एकल महिला, दलित बालबालिका र अशक्त आपङ्गता भएका ब्यक्तिहरुलाई वडा कार्यालयमै बोलाएर सहज र सरल तरिकाले बितरण गरिएको वडाध्यक्ष मोहन गिरिले बताए ।

“भत्ताले गर्दा अचेल बैँकहरुमा थप भिड बढेको छ, जसले गर्दा पालो अबेर आउन सक्छ वडाध्यक्ष गिरिले भने- यो गर्मीमा ती बृद्द बृद्दा आमा बुवा कतिञ्जेल बाहिर बस्नुहोला! फेरि झट्टै भित्र जाने अबस्था पनि छैन ।” भिडले गर्दा कोरोना जोखिम बढ्न सक्ने भन्दै डाटा सहित बैंकका कर्मचारी वडामै बोलाएर सामाजिक सुरक्षा भत्ता बितरण गरिएको उनले बताए ।

वडाध्यक्ष मोहन गिरीको पहलमा साँग्रिला डेभलपमेन्ट बैँक लमही शाखाका कर्मचारी वडा कार्यालयमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरेका हुन् । ३ चरणमा सामाजिक सुरक्षा भत्ता बितरण गरिने योजना अन्तरगत बिहिवार दोस्रो चरणको भत्ता बितरण गरिएको छ । वडा अन्तरगतका २ सय ४५ जनालाई मँगलबार, बिहिबार र शुक्रबार गरी ३ चरणमा सामाजिक सुरक्षा भत्ता बितरण गर्न लागिएको हो ।

नयाँ बस्ती निवासी फुलपतिया चौधरीले आफू पढ्न लेख्न नजान्ने भएका कारण बैँकबाट भत्ता बुझ्दा साह्रै सास्ती हुने बताईन । उनले भनिन् बैँकमा घण्टौ पालो कुर्नु पर्थ्यो तर अहिले वडा कार्यालय बाट सजिलै भत्ता पाईयो । त्यस्तै कर्रिटोल निवासी तिलु कामीपनि एकल भत्ता बुझ्न बैँक जाने तरखरमा थिईन ।

वडा कार्यालयले वडाबाटै बितरण गर्ने जानकारी गराएपछि उनी वडा कार्यालय पुगिन् र भत्ता बुझिन् । उनले त्यसैपनि यो कोरोना महामारीमा हिंडडुल गर्न अप्ठेरोका साथै जोखिम पनि उत्तिकै छ, यस्तो जटिल प्रस्थितिमा वडाबाटै भत्ता पाउँदा खुसी ब्यक्त गरिन् । उनले बिगत सम्झदै भनिन् वडाध्यक्षले प्रत्यक बर्ष हामी एकल लगायत बृद्दबृद्दा लाई न्यानो कपडाले सम्मान गर्नुहुन्छ, तर अहिले यो महामारीमा वडाबाटै भत्ता उपलब्ध गराउनुभयो उहाँलाई धन्यबाद छ ।

वडा कार्यालयको पहलमा वडाबाटै भत्ता बितरण गर्ने सम्भव त लमही नगरपालिकाका वडामध्ये लमही वडा नम्बर ७ पहिलो हो ।