राप्ती गाउँपालिकाले भन्यो कोरोनाबाट बच्न व्यवस्थापन समितिको निर्णय मान्नुस्
भालुवाङ, दाङको राप्ती गाउँपालिकाले आफ्ना नागरिकहरुलाई संकट व्यवस्थापन समितिको निर्णय लागु गर्न अनुरोध गरेको छ । आजका दिनसम्म कोरनाको भयावह अवस्थाबाट सुरक्षित रहन सबै नागरिकले महत्वपूर्ण भुमिका खेलेकोमा धन्यवाद दिँदै थप सर्तकता अपनाउनका लागि अनुरोध गरेको हो ।
राप्ती गाउँपालिकाका नागरिकलाई बन्दाबन्दीको समयमा अनावश्यक रुपमा घर बाहिर ननिस्कन अनुरोध गरेको छ । कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न गाउँपालिका तथा वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेक अन्य सेवा हाललाई बन्द गरिएकाले अत्यावश्यक कामका लागि गाउँपालिकाको कार्यालय वा वडा अध्यक्षहरुसँग समन्वय गर्न हुन समेत अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी दिए ।
गाउँपालिकाबाट हाल कुनै पनि सवारी पास उपलब्ध नगराइएकाले नागरिकले गाउँपालिकासम्म आउन कष्ट नगर्न र वडा स्तरमा भइरहेका सार्वजनिक तथा व्यक्तिगत निर्माणका कार्यमा बढिमा १० जनासम्म जनशक्तिमार्फत स्वास्थ्य मापदण्ड पुरा गरी कार्य गर्नुपर्ने, साथै एक वडाबाट अर्को वडामा श्रमिकहरु ओसार(पसार गरी सार्वजनिक तथा ब्यक्तिगत निर्माण कार्य बन्देज गरिएकोे गाउँपालिकाले निर्णय गरेको समेत प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिए ।
लकडाउनका कारण संघ संस्था, प्रदेश तथा स्थानीय तहबाट प्राप्त हुने श्रोतको सुनिश्चितता नभएकाले हाललाई नयाँ सम्झौत समेत बन्द गरिएको र लकडाउन अवधिमा वडा समितिसँग अनुमति नलिई वा अनावश्यक रुपमा टोल टोलमा बाटो बन्द गर्ने कार्य गर्न मनाही गरिएको प्रवक्ता चौधरीले बताए । साथै स्थानीय तरकारी, एम्वुलेन्स, दूध बोक्ने सवारी, कार्यालयमा आवत(जावत गर्ने कर्मचारीको सवारी साधनलाई सबैले सहजीकरण गरिदिन सबैमा गाउँपालिलकाले अनुरोध गरेको छ ।