घूस रकम बुझाउन खोज्ने डिभिजन प्रमुख अख्तियारको फन्दामा
प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घूस रकम बुझाउन खोज्ने जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई बुधबार अख्तियारले प्रक्राउ गरेको छ ।
डिभिजन प्रमुख झाले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रकम बुझाउन खोजेका थिए ।
झाले उक्त रकम खाममा पौडेलको कार्यकक्षस्थित टेबलको घर्रामा राखिदिएका थिए । खाम आफ्नो टेबलको घर्रामा झाले राखिदिएपछि पौडेलले यो के हो भनेर सोध्दा नभनेको पौडेलले बताएका छन् । साथै, झाले आफूले पौडेललाई १० हजार नगद खाममा राखेर टेबलमा राखिदिएको तर पौडेलले अस्वीकार गरेको बताएका छन् ।
उक्त घटना भएपछि शाखा अधिकृत पौडेलले भ्रष्टाचारजन्य कसुरमा सजाय गराई पाऊँ भनेर निवेदन दिएका थिए । यो घटनाको सामान्य जानकारी पाएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ठाडो आदेश दिँदै घटनामा संलग्नलाई अख्तियारमा बुझाउन निर्देशन दिएका हुन् ।
लगत्तै अख्तियारको इटहरीस्थित कार्यालयले झालाई प्रक्राउ गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयमा महिनौँदेखि अन्य मन्त्रालय तथा कार्यालयहरूको फाइल रोकिँदै आएको गुनासो हुने गरेको छ ।
भर्खरै मात्र पौडेल रहेको महाशाखाका प्रमुख उपसचिव हरिहर पौडेलको सरुवा भएको थियो । उक्त शाखामा कर्मचारीहरूले दुःख दिनुका साथै फाइलसमेत हराउने, फ्याँक्ने र च्यात्ने गरेको गुनासो अन्य मन्त्रालयका कर्मचारीहरूले गर्दै आएका छन् ।