कोरोना संक्रमित भेटिएपछि काठमाडौँको मैतीदेवी क्षेत्र सिल

काठमाडौं,  राजधानीको मैतीदेवी क्षेत्र सिल गरिएको छ। डेरा गरी बस्ने एक जनामा कोरोना भाइरस संक्रमण भेटिएपछि मैतीदेवी क्षेत्र सिल गरेको हो। 

रामेछापको खाडादेवी–४ स्थायी घर भई मैतीदेवीमा डेरामा गरी बस्ने पुरुषमा संक्रमण पुष्टि भएपछि प्रहरीले मैतीदेवी क्षेत्र सिल गरेको छ। मैतीदेवी प्रहरी बिटका अनुसार मैतीदेवी मन्दिरदेखि प्रहरी बिटसम्मको क्षेत्रमा सिल गरिएको छ।

१०–१२ वटा घर पूर्णरुपमा सिल गरिएको प्रहरीले जनाएको छ। सँगै बस्ने जुम्ल्याहा दाजुभाइमध्येका दाजुलाई संक्रमण देखिएको हो। भाइलाई भने घरमै क्वारेन्टिनमा राखिएको प्रहरीले जनाएको छ।

संक्रमित युवक रामेछापबाट वैशाख ३० गते काठमाडौं आएको खुलेकाे छ। रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले संक्रमितको घर भएको क्षेत्रलाई पनि सिल गरिएको जानकारी दिइन्।

परिवारका ८ जना र नजिकको सम्पर्कमा आएका थप ७ जनाको थ्रोट स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको शर्माले जानकारी दिइन्।