राप्ती गाउँपालिकाको क्वारेन्टाइन भरियो, सोमबार मात्रै ५० जना भर्ना
भालुवाङ, भारत र जिल्ला बाहिरबाट आउने मजदुरहरूले राप्ती गाउँपालिकाका क्वारेन्टाइन भरिदै जान थालेको छ । सोमबार मात्रै कपिलवस्तुबाट आएका ५० जना मजदुरलाई क्वारेन्टाइनमा भर्ना गरिएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर ६ र ७ का १० महिना देखि ५० वर्ष उमेरका १६ जना महिला र १७ जना पुरूष गरि ३३ जना मजदुरहरू कपिलवस्तुको चन्द्राैटाबाट राप्ती गाउँपालिकामा प्रवेश गरेपछि उनीहरूलाई ज्ञानोदय मावि पत्थरगढवाको क्वारेन्टाइनमा भर्ना गरिएको छ भने वडा नम्बर ३ का डेढ महिना देखि ४५ वर्ष उमेरका ८ महिला र ९ पुरूष गरी १७ जना मजदुरहरू पनि कपिलवस्तुको चन्द्राैटाबाट सोमबार नै राप्ती गाउँपालिकामा प्रवेश गरेपछि उनीहरूलाई विपी आधारभुत विद्यालय बसन्तपुरको क्वारेन्टाइनमा भर्ना गरिएको छ ।
उनीहरू सवै गाडीबाट यात्रा गरि आएका थिए । उनीहरूलाई सिसहनियाँ र लालमटिया स्वास्थ्य चाैकीमा स्वास्थ्य चेकजाँच गर्दा ११ जनामा सामान्य ज्वरो आएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् । यस अघि सर्वोदय मावि सिसहनियाँको क्वारेन्टाइनमा ६ जना,ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाको क्वारेन्टाइनमा ४ जना र दुर्गा भवानी आधारभुत विद्यालय मसुरीयाको क्वारेन्टाइनमा ११ जना बस्दै आएका छन् । यो सँगै राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा हाल ७१ जना व्यक्ति बस्दै अाएका छन् ।
यसैबीच क्वारेन्टाइनमा र होम क्वारेन्टाइनमा रहेका २६ जनाको स्वाव संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको छ । यता राप्ती गाउँपालिकाको क्वारेन्टाइनको अवस्थाबारे गाउँपालिकाका सुचना अधिकृत विश्वास विक सँग बुझ्दा क्वारेन्टाइनमा कुनै समस्या नरहेको बताएका छन् । खानेपानी, शाैचालय, बसाईको अवस्थामा कुनै समस्या नरहेको बताएका छन् । हाल गाउँपालिकाले ९ वटै वडामा गरि ११ वटा सामुदायिक विद्यालयमा क्वारेन्टाइन स्थापना गरिएको सुचना अधिकृत विकले जानकारी दिएका छन् ।
स्थापना गरिएका क्वारेन्टाइनहरूमा नेपाल राष्ट्रिय मावि भालुवाङ, नवप्रतिभा आधारभुत विद्यालय पाखापानी, आदर्श नमुना मावि लालमटिया, ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटिया, दुर्गा भवानी आधारभुत विद्यालय मसुरीया, नवज्योती आधारभुत विद्यालय सिरिचाैर मसुरीया, मावि माैरीघाट, शंकर मावि पिपरी, बाल कल्याण आधारभुत विद्यालय पहरूवा, सर्वोदय मावि सिसहनियाँ,ज्ञानोदय मावि पत्थरगढवा, विपी आधारभुत विद्यालय बसन्तपुर र आधारभुत विद्यालय रूपाकोट रहेका छन् ।